
काठमाडौँ ४ भाद्र । यस वर्ष नेपालमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण हालसम्म ११ जनाको दुःखद निधन भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभर कूल ६३ जनामा यो सङ्क्रमण पुष्टि भएको छ। डा. गौतमले दिनुभएको जानकारी अनुसार, निधन हुनेहरूमा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक(एक जना तथा चितवनका तीन जना रहनुभएको छ। ज्यान गुमाउनेहरूमध्ये आठ वर्षीय र सत्र वर्षीय एक एक जना हुनुहुन्छ भने बाँकी नौ जना ४० वर्षभन्दा माथिको उमेर समूहका हुनुहुन्छ। गत वर्ष सन् २०२४ मा यस रोगबाट २५ जनाको मृत्यु भएको थियो भने ८६ जना सङ्क्रमित भएका थिए। विज्ञहरूका अनुसार जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमणको जोखिम अत्यन्तै उच्च रहने गर्दछ। हालसम्म नेपालका करिब ८२ प्रतिशत बालबालिकाले यो खोप प्राप्त गरिसकेका छन्। डा. गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको मस्तिष्क ज्वरो हो। यो रोग विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी सक्रिय हुने गर्दछ। यो प्रजातिको लामखुट्टे विशेषगरी साँझ र झिसमिसे बिहानीको समयमा बढी सक्रिय रहन्छ। प्रजननस्थलस् धानखेत, दलदले भूमि र पानी जम्ने ठाउँहरू यस्ता लामखुट्टेका लागि उपयुक्त प्रजननस्थल मानिन्छन्। त्यसैले यस्ता क्षेत्रमा बसोबास गर्ने मानिसमा सङ्क्रमणको खतरा बढी हुन्छ। यो रोग सङ्क्रमित चराचुरुङ्गी हाँस, कुखुरा र सुँगुर बंगुरजस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा सर्दछ। डा. गौतमले यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने नसर्ने कुरा स्पष्ट पार्नुभएको छ। तसर्थ, लामखुट्टेको टोकाइबाट बच्न र आफ्नो वासस्थान वरपर सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उत्तम उपाय भएकोले सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।