search logo
NOTIFICATIONS

एमालेको ढोका खोल्दै पूर्वराष्ट्रपति भण्डारी एमाले मोरङ कार्यालयमा प्रवेश

हाम्रो पेज

३ भाद्र २०८२, मंगलवार १८:५५

३ भाद्र, विराटनगर । नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आइरहेका बेला पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले केन्द्रीय नेतृत्वको निर्देशनलाई अवज्ञा गर्दै मोरङको विराटनगरस्थित जिल्ला पार्टी कार्यालयको भ्रमण गर्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले उहाँका लागि पार्टीका सबै ढोका बन्द गर्ने प्रयास गरिरहँदा भण्डारीले मोरङमा गरेको यो कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुग्दा भण्डारीलाई जिल्ला र महानगर कमिटीका नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित कार्यकर्ताको उत्साहले संस्थापन पक्षले कार्यक्रममा सहभागी नहुन जारी गरेको उर्दीलाई पूर्णतः निष्प्रभावी तुल्यायो । पार्टी कार्यालयमा उहाँलाई जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र पूर्वकेन्द्रीय सदस्य विनोद ढकाललगायतका नेताहरूले स्वागत गर्नुभएको थियो । यो दृश्यले मोरङ जिल्लामा भण्डारी पक्षको बलियो पकड रहेको यथार्थलाई देखाएको छ । पार्टी कार्यालय पुगेपछि भण्डारीले एक परिपक्व नेताको भूमिका निर्वाह गर्दै जननेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभयो । त्यसपछि कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले आफू लामो समयपछि पार्टी कार्यालयमा फर्किएको बताउनुभयो । “२०७२ सालको भूकम्पपछि राष्ट्रिय जिम्मेवारीका कारण म यहाँ आउन पाएको थिइनँ,“ उहाँले भन्नुभयो, “राष्ट्रपतिबाट बिदा भएपछि मैले पार्टी सदस्यता नवीकरण गरेँ र आज ४५ वर्षपछि पनि म यही पार्टीको एक सदस्यका रूपमा सक्रिय छु ।“ आफ्नो सम्बोधनमा उहाँले विराटनगरसँगको आफ्नो भावनात्मक र राजनीतिक सम्बन्धलाई स्मरण गर्नुभयो । “मैले एमालेको सदस्यता यही विराटनगरबाट लिएँ, शपथ पनि यहीँ खाएँ र २०४६ सालको जनआन्दोलनमा पनि यहीँबाट होमिएँ,“ उहाँले भन्नुभयो, “त्यसैले मोरङ मेरो लागि गृहजिल्ला र गृहनगर जस्तै हो ।“
भण्डारीले आफ्नो सम्बोधनलाई व्यक्तिगत सम्बन्धमा मात्र सीमित राख्नु भएन । उहाँले देशको वर्तमान अवस्था र पार्टीको भूमिकाबारे पनि प्रष्ट विचार राख्नुभयो । राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि आर्थिक आत्मनिर्भरता अनिवार्य रहेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, “आर्थिक रूपमा आत्मनिर्भर हुन नसके हाम्रो राष्ट्रियतामाथि आँच आउन सक्छ ।“ उहाँले एमालेलाई एक देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टीको रूपमा चित्रण गर्दै राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी एमालेकै काँधमा रहेको बताउनुभयो । आफू अहिले पार्टीको एक सामान्य सदस्य मात्र भएको तर विशेष राष्ट्रिय जिम्मेवारी पूरा गरेर पार्टीमा फर्किएको उहाँको भनाइ थियो । यो भ्रमणको पृष्ठभूमि भने निकै जटिल छ । गत साउन ५–६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको नवीकरण भएको सदस्यता खारेज गर्दै उहाँलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको थियो । तर, नवौँ महाधिवेशनबाट निर्वाचित पूर्वउपाध्यक्षको हैसियतमा भण्डारीले आफ्नो सक्रियतालाई रोक्नु भएको छैन । काठमाडौँ बाहिर पुगेर उहाँले देखाएको यो सक्रियताले अध्यक्ष ओलीको शक्तिलाई प्रत्यक्ष चुनौती दिएको छ । मोरङमा भण्डारीलाई रोक्न संस्थापन पक्षले अन्तिम समयसम्म प्रयास गरेको थियो । एमालेका विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रम पार्टीको आधिकारिक नभएको भन्दै कार्यकर्तालाई सहभागी नहुन उर्दी जारी गर्नुभएको थियो । तर, उहाँको निर्देशनलाई बेवास्ता गर्दै कार्यकर्ता भण्डारीको स्वागतमा उर्लिए । मोरङ जिल्ला र विराटनगर महानगरको पार्टी अधिवेशनमा ओली पक्षधर नेताहरू पराजित भएका थिए र भण्डारी निकट मानिने विनोद ढकाल पक्षले बहुमत हासिल गरेको थियो । यही स्थानीय शक्ति सन्तुलनले भण्डारीलाई केन्द्रीय निर्देशनका बाबजुद भव्य कार्यक्रम गर्ने अवसर प्रदान ग¥यो । सोमबार विराटनगर विमानस्थलमा उहाँको आगमन पनि उत्तिकै उत्साहपूर्ण थियो । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईदेखि एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीसम्मका नेताहरू उहाँको स्वागतमा लाइन लागेका थिए । यसले के देखाउँछ भने पार्टीको एउटा ठूलो पंक्ति अझै पनि भण्डारीको नेतृत्व र विचारलाई सम्मान गर्छ र ओलीको एकलौटी निर्णय स्वीकार गर्न तयार छैन । विराटनगर बसाइँमा भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका सबै जसो मन्त्रीहरुसँग सामूहिक र मुख्यमन्त्रीसँग एक्लै भेटवार्ता गर्नुभएको थियो ।