
१ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रण दिन आउनु भएका भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्रीबीच भेटवार्ता शिष्टाचार भेट भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ। मिस्री भारतीय वायुसेनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो । उहाँले आजै परराष्ट्रमन्त्री आरजु राणा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उच्चपदस्थ नेताहरूसँग पनि भेट्ने कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय विदेश सचिवले मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनु भएको छ । प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारत प्रस्थान गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।मिश्रीको नेपाल यात्राका क्रममा दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारी र आपसी हितका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । यसै क्रममा ओलीको आसन्न भारत भ्रमणका एजेन्डा र प्राथमिकताबारे द्विपक्षीय तयारी पनि गरिनेछ । प्रधानमन्त्री ओलीको भारत भ्रमण १४ महिना लामो कार्यकालपछि हुन लागेको हो ।
