search logo
NOTIFICATIONS

विराट क्याम्पसको ३४ औं वार्षिकोत्सव सम्पन्न, शिक्षासेवी तथा पूर्वविद्यार्थी सम्मानित

हाम्रो पेज

२९ श्रावण २०८२, बिहीबार १८:३१

विराटनगर, २९ श्रावण । विराटनगरस्थित ऐतिहासिक शैक्षिक संस्था विराट क्याम्पसले आफ्नो ३४ औं वार्षिकोत्सव एक भव्य र विशेष समारोहका साथ सम्पन्न गरेको छ। क्याम्पसको गौरवशाली यात्राको उत्सव मनाउन आयोजित कार्यक्रममा प्रतिष्ठित शिक्षाविद्, सफल पूर्वविद्यार्थी, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका गण्यमान्य व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सह–परीक्षा नियन्त्रक गोविन्द गुरागाईंले प्रमुख अतिथिको रूपमा अध्यक्षता गर्नुभएको थियो। आफ्नो सम्बोधनका क्रममा उहाँले विगत तीन दशकभन्दा बढी समयदेखि यस क्षेत्रको उच्च शिक्षाको विकासमा विराट क्याम्पसले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले भविष्यमा अझ गुणस्तरीय, प्रविधिमैत्री र रोजगारीमुखी शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। साथै, त्रिभुवन विश्वविद्यालयले पनि सूचना तथा प्रविधिको प्रयोगलाई बढावा दिँदै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा हुने ढिलासुस्तीलाई अन्त्य गर्न प्रणालीगत सुधारमा लागिपरेको जानकारी दिनुभयो।समारोहमा विभिन्न शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने लगनशील विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएर क्याम्पसको प्रतिष्ठा बढाउने पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा क्याम्पसको स्थापनाकालदेखि हालसम्मको यात्रा, शैक्षिक उपलब्धि र भविष्यका महत्वाकांक्षी योजनाहरूबारे एक विस्तृत प्रस्तुति समेत देखाइएको थियो।क्याम्पसका अध्यक्ष आरसी कोइरालाले ३४ वर्षको यो अविस्मरणीय शैक्षिक यात्रामा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहितको भावी योजना सार्वजनिक गर्नुभयो।
यस विशेष अवसरमा, शिक्षा क्षेत्रमा अविस्मरणीय योगदान पुर्‍याउनुहुने दुईजना सार्वजनिक माध्यमिक विद्यालय, जहदा–४ का पूर्व प्रधानाध्यापक अजय कुमार सिंह र राम सीता माध्यमिक विद्यालय, बर्जुका पूर्व प्रधानाध्यापक सुभकलाल रायलाई विशेष सम्मान अर्पण गरिएको थियो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै क्याम्पसका प्राचार्य रोशन घिमिरेले भन्नुभयो, उत्कृष्ट पठनपाठनका साथै समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दा हाल अध्ययनरत विद्यार्थीहरूमा संस्थाप्रति थप जिम्मेवारीबोध जाग्छ र उनीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रेरणा मिल्छ। समारोहमा आयोजित विविध सांस्कृतिक प्रस्तुति, कविता वाचन तथा सांगीतिक कार्यक्रमहरूले वातावरणलाई उत्सवमय बनाएको थियो।