भियतनामको हालोङ खाडीमा डुङ्गा दुर्घटनाः ३७ पर्यटकको मृत्यु, कैयौँ बेपत्ता

हाम्रो पेज

४ श्रावण २०८२, आईतवार १२:४५
डुङ्गामा ५३ जना सवार रहेकोमा ११ जनाको जीवितै उद्धार।


एजेन्सी,४ श्रावण । भियतनामको प्रसिद्ध पर्यटकीय गन्तव्य हालोङ खाडीमा पर्यटक बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। खराब मौसमलाई दुर्घटनाको कारण मानिएको छ। दुर्घटनामा परेका अन्य कैयौँ व्यक्तिहरू अझै बेपत्ता रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, वन्डर सी नामक उक्त डुङ्गामा कुल ५३ जना सवार थिए। अधिकांश यात्रुहरू राजधानी हनोईबाट घुम्न आएका स्थानीय पर्यटक भएको बताइएको छ। अचानक मौसम बिग्रिएर आएको आँधी र छालको चपेटामा परेपछि डुङ्गा अनियन्त्रित भई पल्टिएको थियो।


उद्धारकर्मीहरूले हालसम्म ११ जनालाई पानीबाट जीवितै उद्धार गर्न सफल भएका छन्। तर, मुसलधारे वर्षा र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। बेपत्ताहरूको खोजी जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ। यो दुःखद घटनाले भियतनामको पर्यटन क्षेत्रलाई स्तब्ध बनाएको छ र प्रधानमन्त्रीले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ।