हाम्रो पेज
काठमाडौं २९ अषाढ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टि २० विश्वकप छनोटको तयारीका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। आइतबार घोषित टोलीमा अलराउन्डर मोहम्मद आदिल आलमले पुनरागमन गरेका छन् । उनीस्पट फिक्सिङको गम्भीर आरोपबाट सफाइ पाएपछि पहिलोपटक राष्ट्रिय टोलीको ढोका ढकढक्याउन आइपुगेका छन्। आदिललाई क्यानले २०७९ सालमा आयोजना गरेको टि २० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो। तर, लामो कानुनी प्रक्रियापछि अदालतले आदिलसहित फिक्सिङको आरोप लागेका पाँचै क्रिकेटरलाई दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो। अदालतको फैसलापछि क्यानको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम २०८२ वैशाख २१ गतेदेखि उनको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको हो। प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक बन्द शिविरमा परेसँगै उनको राष्ट्रिय टिममा पुनरागमनको बाटो खुलेको छ। बन्द प्रशिक्षणको सूचीमा पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका कुशल मल्ल र सन्दीप जोराले पनि पुनरागमन गरेका छन्। यसका साथै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना र शुभ कंसाकार जस्ता युवा प्रतिभाहरूलाई पनि अवसर दिइएको छ । नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायर खेल्दैछ। उक्त प्रतियोगितामा नेपाल समूह बी मा परेको छ, जहाँ कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। कुल ९ टोली सहभागी हुने यस छनोट प्रतियोगिताको सुपर सिक्स चरणको अन्त्यमा शीर्ष तीनमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन्। यो बन्द प्रशिक्षणले अनुभवी खेलाडीको पुनरागमन र नयाँ प्रतिभाको आगमनबीच सन्तुलन मिलाउँदै विश्वकप छनोटका लागि एक सशक्त टोली निर्माण गर्ने लक्ष्य राखेको छ।