NOTIFICATIONS
हाम्रो पेज
एजेन्सी, १२ अषाढ । १२ दिनसम्म चलेको विनाशकारी युद्धपछि इरान र इजरायलबीच अस्थायी युद्धविराम भएको छ, तर युद्धका घाउ र त्यसका परिणामहरू सतहमा आउन थालेका छन् । इरानले ठूलो मानवीय क्षतिको विवरण सार्वजनिक गरेको छ भने इजरायलले इरानभित्रै गोप्य सैन्य अभियान चलाएको सनसनीपूर्ण खुलासा गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताका लागि वार्ताको प्रस्ताव अघि सारे पनि त्यसलाई आवश्यक नरहेको भन्दै दोहोरो नीति देखाउनु भएको छ । इरानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणबाट भएको क्षतिको प्रारम्भिक आँकडा सार्वजनिक गरेको छ, जुन निकै भयावह छ । १२ दिनको भिडन्तमा ६ सय २७ जनाको ज्यान गएको छ भने चारहजार आठसय ७० जना घाइते भएका छन् । सबैभन्दा धेरै क्षति राजधानी तेहरान र पश्चिमी प्रान्त केरमानशाहमा भएको छ । अधिकांश मृतकको घटनास्थलमै ज्यान गएको थियो । यद्यपि, इरान सरकारले रिपोर्टिङमा लगाएको कडा नियन्त्रणका कारण यो आँकडा अन्तिम नहुन सक्ने बीबीसीले जनाएको छ । मानवअधिकार समूहहरूले वास्तविक मृतक संख्या सरकारले सार्वजनिक गरेकोभन्दा धेरै हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
यता इजरायली सेनाका प्रमुख ईयाल जमिरले हालैको तनावका क्रममा इजरायली कमाण्डोहरू इरानको भूमिभित्रै प्रवेश गरी गोप्य अभियान चलाएको खुलासा गर्नुभएको छ । यो इजरायली सुरक्षा अधिकारीहरूले औपचारिक रूपमा स्वीकार गरेको पहिलो पटक हो । एक भिडियो सन्देशमा उहाँले भन्नुभएको छ, हाम्रा भूमिगत कमाण्डोले सत्रु मुलुकको गहिराइसम्म पुगेर गोप्य ढंगले काम गरे, जसले गर्दा इजरायली सेनाका लागि रणनीतिक स्वतन्त्रता सिर्जना भयो र हवाई नियन्त्रण सम्भव भयो । यसअघि इजरायलको गुप्तचर संस्था मोसादले अपरेशनका भिडियो फुटेज सार्वजनिक गरेपनि स्थल सेना परिचालित भएकोबारे आधिकारिक रूपमा केही बताइएको थिएन ।