search logo
NOTIFICATIONS

विराटनगरमा सिटी सफारी चालकको इमानदारिता ७७ हजार र आइफोनसहितको झोला फिर्ता

हाम्रो पेज

१० असार २०८२, मंगलवार १२:५०
विराटनगर १० अषाढ I मोरङको विराटनगरमा एक सिटी सफारी चालकले आफूले फेला पारेको नगद र महँगो मोबाइलसहितको झोला प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार, विराटनगर महानगरपालिका ४ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले शनिबार असार ८ गते प्रदेश १ ०४ ००१ ह ३९३० नम्बरको सिटी सफारीमा यात्रा गर्दा आफ्नो झोला छुटाउनु भएको थियो । उहाँको झोलामा नगद रु ७७ हजार ५०० सयसहित एउटा आइफोन मोबाइल र अन्य महत्त्वपूर्ण कागजातहरू थिए। झोला हराएपछि उपाध्यायले प्रहरीमा निवेदन दिनु भएको थियो । उहाँको निवेदनको आधारमा वडा प्रहरी कार्यालय, विराटनगरबाट खटिएको टोलीले तत्काल खोजी सुरु गर्‍यो। प्रहरीले सीसीटीभी फुटेजको सहायताले उक्त सिटी सफारी र त्यसका चालकको पहिचान गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले चालक विराटनगर ६, सरोचियाका २७ वर्षीय हरिप साहलाई सम्पर्क गर्दा उहाँले झोला सुरक्षित आफूसँग राखेको बताउनु भयो। त्यसपछि साहले जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भई उक्त झोला र त्यसमा रहेका सम्पूर्ण सामानहरू धनी ईश्वर प्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नुभएको हो । प्रहरीले चालक साहको इमानदारीको प्रशंसा गरेको छ भने आफ्नो हराएको समान फिर्ता पाएपछि ८० वर्षीय उपाध्यायले खुसी व्यक्त गर्नुभएको छ ।