search logo
NOTIFICATIONS

भिजिट भिसा प्रकरणः छानबिनको माग गर्दै रास्वपाको संसद बहिष्कार जारी

हाम्रो पेज

९ असार २०८२, सोमबार १६:३१
काठमाडौं ९ अषाढ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।आफ्नो माग सम्बोधन नगरी सभामुखले सदनको कारबाही अघि बढाएको भन्दै रास्वपाले आफ्नो संसदीय सङ्घर्ष जारी राखेको हो। सुरुमा सदनभित्रै नाराबाजी गरेको रास्वपाले पछिल्ला दिनमा आफ्नो धारणा राखेर बैठक बहिष्कार गर्ने रणनीति अपनाएको छ। यही क्रममा सोमबार पनि आफ्ना सांसदको भनाइपछि रास्वपाका सम्पूर्ण सांसदहरू बैठकबाट बाहिरिएका थिए। सदनबाट बाहिरिने क्रममा रास्वपा सांसदहरूले स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग हात मिलाएर सौहार्दता प्रकट गरेका थिए। आइतबारको बैठकमा सांसद सिंहले रास्वपामाथि पेल्ने काम भएको भन्दै सभामुखको भूमिकाको आलोचना गरेका थिए।
आजको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले राज्य संरक्षकहरूकै मिलोमतोमा भिजिट भिसाको नाममा मानव तस्करीको संगठित सञ्जाल चलिरहेको गम्भीर आरोप लगाउनुभयो । उहाँले मानव तस्करहरूको र्‍याकेटलाई राज्यले नै संरक्षण गरिरहेको दाबी गर्दै सरकारको मौनताप्रति कडा प्रश्न उठाउनुभयो । मानव तस्करी मानवतामाथिकै गम्भीर अपमान भएको बताउँदै उहाँले तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद नेपालीले भन्नुभयो, “सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध होरु सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन् तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन्रु भिजिट भिसाको नाममा मानव तस्करी गर्नु कानुनी अपराध मात्र होइन, यो मानवताको घोर अपमान हो। यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ। यस्तो जघन्य अपराधमा पनि सरकार किन मौन छरु कतै यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन? ”
राष्ट्रिय स्वतन्त्र पार्टीले गत जेठ १३ गतेदेखि नै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै संसदमा निरन्तर आवाज उठाउँदै आएको छ।