
जनकपुर,९ पुष । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले तराईका अधिकांश जिल्लाको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । चिसो बढेपछि डिभिजन वन कार्यालय लहानले जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको छ । चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन् । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसममा उल्लेख्य सुधार नहुने जनाएको छ । तराईका धेरै ठाउँहरूमा हुस्सु,कुहिरो लागेको र त्यो आगामी तीन दिनमा समेत उल्लेख्य सुधार नहुने सम्भावना रहेको जनाएको हो । आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “देशको तराईका धेरै ठाउँहरूमा हुस्सु÷कुहिरो लागेको छ । साथै, आगामी तीन दिनमा समेत उल्लेख्य सुधार हुने सम्भावना नरहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,“ विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार बुधबार (पुस ९) दिउँसो कोसी प्रदेशका तराई भू–भागमा मध्याह्नसम्म तथा बाँकी तराई भू–भागमा दिनभर हुस्सु÷कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ । राति तराई भू–भागमा हुस्सु÷कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बिहीबार (पुस १०) दिउँसो देशका तराई भू–भागमा हुस्सु,कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ । राति देशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनेछ । गण्डकी, कर्णाली, सुदूरपश्चिममा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । तराई क्षेत्रमा एक सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। रौतहटसहितका जिल्लामा अत्यधिक चिसो बढ्दा गरीब तथा विपन्न नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। चिसो बढिसक्दा पनि स्थानीय सरकारले अझै दाउरा वितरण नगरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। आगो ताप्न दाउराको अभाव हुँदा गरीब तथा विपन्न परिवारहरू ठूलो समस्यामा परेका छन्। कतिपय स्थानमा स्थानीयहरू दाउरा नपाएर प्लास्टिक तथा फोहोर पदार्थ बालेर आगो ताप्न बाध्य भएको बताइन्छ। स्थानीय तहले दाउरा र न्यानो कपडा वितरण नगरेको भन्दै दैनिक ज्यालादारी मजदुर, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिका थप जोखिममा परेका छन्। चिसोका कारण काममा जान नसकेको, आम्दानी बन्द भएको र स्वास्थ्य समस्या बढ्दै गएको उनीहरूको भनाइ छ। चिसो अत्यधिक बढिसक्दा पनि स्थानीय सरकारले अहिलेसम्म दाउरा वितरण गर्न नसकेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। स्थानीय सरकारसँग आगो ताप्नका लागि दाउरा, न्यानो कपडा तथा अन्य राहत सामग्रीको व्यवस्था गर्न माग गरिएको छ। चिसो र शीतलहर बढेपछि विभिन्न पालिकाले विद्यालयहरुमा बिदा दिएका छन् ।