search logo
NOTIFICATIONS

गाजा युद्धविरामः विपिन जोशीको रिहाइको आशा बढ्यो

हाम्रो पेज

२३ आश्विन २०८२, बिहीबार ११:२८

एजेन्सी,२३ आश्विन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेसँगै यसले विश्वभर आशाको सञ्चार गरेको छ। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर भएको र यसबाट सबै बन्धकहरूलाई चाँडै रिहा गरिने तथा इजरायलले आफ्ना सेना सहमति भएको सीमामा फिर्ता बोलाउने बताएका छन्। यो सम्झौतालाई उनले बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदमका रूपमा व्याख्या गरेका छन्। ट्रम्पले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाका लागि महत्त्वपूर्ण र ऐतिहासिक दिन भएको बताएका छन्। यस मध्यस्थताका लागि कतार, इजिप्ट र टर्कीलाई उनले धन्यवाद पनि दिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि गाजामा युद्धविराम र बन्धक रिहा गर्न भएको सम्झौताको स्वागत गरेका छन्। उनले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन्। गुटेरेसले सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्ने, स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्ने र लडाइँ सधैँका लागि समाप्त हुनुपर्नेमा जोड दिएका छन्। उनले गाजामा तत्काल मानवीय सहायताका लागि पनि अपिल गरेका छन्। यस सम्झौतासँगै गाजामा हमासको बन्धकमा परेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको आशा पलाएको छ। गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा विपिनलाई बन्धक बनाइएको थियो। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो। बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको एक पुरानो भिडिओ सार्वजनिक भएको छ। ३३ सेकेन्डको सो भिडिओमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन् । यस भिडिओ सार्वजनिक भएसँगै जोशी जीवितै रहेको आशा गरिएको छ। भिडिओ दुई वर्ष पुरानो भएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताउनु भएको छ । यसअघि सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात छ।विपिन जोशीको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी आउन सकेको छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने प्रयास गरिरहेको बताउनु भएको छ । युद्धविराम सम्झौताले शान्तिको नयाँ ढोका खोले पनि विपिन जोशी लगायतका बन्धकहरूको वास्तविक अवस्था र उनीहरूको रिहाइको प्रक्रिया अझै स्पष्ट हुन बाँकी छ। यसले विपिनको परिवार र नेपालका लागि गहिरो चिन्ता थपेको छ। हमासको नियन्त्रणमा अहिले पनि ४८ जना रहेका छन् । त्यसमा २० जना मात्रै जिवितै रहेको खबरहरु सार्वजनिक हुँदै आएका छन् ।