एमालेको नेसनल भोलेन्टियर फोर्स रोक्न जेनजी घाइते माइतीघरमा धर्नामा बसे

हाम्रो पेज

५ मंसिर २०८२, शुक्रबार १२:१७

काठमाडौं, ५ मंसिर । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स एनभीएफ घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन(जी घाइतेहरू पुगेका छन् । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् । एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् । प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ । समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३, २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन भन्दै एमालेले भोलेन्टियर फोर्स बनाउन लागेको छ ।  एमालेले नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लाग्नु भएको हो । एमालेकै कार्यक्रमलाई लिएर बारामा तनाब बढिरहेका बेला काठमाडौंमा स्वयम्सेवी भेलासहित मार्च पास गराउँदा सुरक्षा चुनौती थपिने हो कि भनेर स्थानीय प्रशासन चिन्तित छ। एमालेले कार्यदल नै बनाएर नेशनल भोलेन्टियर्स फोर्स गठनको तयारी थालेको थियो। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल नेतृत्वको जनसंगठन समन्वय संयन्त्रले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा कार्यदल बनाएको थियो।उक्त कार्यदलमा अखिल पूर्वअध्यक्ष समिक बडाल, मीनबहादुर शाही, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, वचन देउजा, पुष्प श्रेष्ठ, महेश चौलागाईं, अमित पौडेल, निशा लिम्बू, अञ्जना सिवाकोटी, विनिता काफ्ले लगायत सदस्य थिए। नेशनल भोलेन्टियर फोर्सको प्रमुख पुष्प श्रेष्ठ बनाउने तयारी एमालेको छ। तदनुरूप नै विधान बनाइएको छ। युवा संघका नेता रहेका उनी अहिले अध्यक्ष ओलीको सुरक्षामा तैनाथ छन्। फोर्सको हाइ कमाण्ड सानो आकारको हुनेछ। अहिले कमाण्ड एक जना र सहकमाण्ड एक महिला, एक पुरूष गरी दुई जना रहने प्रबन्ध गरिएको छ। नेकपा एमालेका सचिवालय सदस्यहरूले शुक्रबार गठन हुन लागेको नेसनल भोलेन्टियर्स फोर्सबारे प्रश्न उठाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सात घन्टा बढी बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईले नेसनल भोलेन्टियर्स फोर्स घोषणाप्रति प्रश्न उठाएका थिए। ‘हामी कुन विधि, पद्धति र नीतिमा टेकेर यो संरचना बनाउँदैछौं। हाम्रो कार्यदिशासँग मेल नखाने संरचना किन चाहियो हामीलाईरु यसको तात्पर्य के होरु’ सचिवालयमा सदस्यहरूले प्रश्न उठाएका थिए। यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए। ‘यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,’ सचिवालय सदस्यहरूले भनेका थिए, ‘अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।’ महासचिव शंकर पोखरेलले देशलाई सही दिशामा फर्काउन स्वयम्सेवी फोर्सको गठन गर्न लागिएको बताउनु भएको थियो ।