प्रधानमन्त्री ओलीको चीन भ्रमण तय, सी र मोदीसँग त्रिपक्षीय भेट हुने
हाम्रो पेज
२९ श्रावण २०८२, बिहीबार १२:५७
फाइल तस्विर
काठमाडौं २९ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिणाम देखिने गरी काम गर्न मन्त्रालयका उच्चाधिकारीहरूलाई निर्देशन दिनुभएको छ भने अर्कोतर्फ उहाँ आफैँ एक व्यस्त र महत्त्वपूर्ण कूटनीतिक दौडमा निस्किने तयारीमा हुनुहुन्छ। प्रधानमन्त्री ओली आगामी भदौ महिनामा दुई छिमेकी मुलुक चीन र भारतको भ्रमणमा जाने कार्यक्रम तय भएको छ। विशेषगरी चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता र सम्भावित त्रिपक्षीय बैठकले यसलाई सर्वाधिक चासोको विषय बनाएको छ। प्रधानमन्त्री ओली भदौ १४ देखि १८ सम्म पाँच दिने चीन भ्रमणमा जान लाग्नुभएको हो। यो भ्रमण मुख्य दुई महत्त्वपूर्ण कार्यक्रममा केन्द्रित हुनेछ । सांघाई सहयोग संगठन शिखर सम्मेलन सांघाईमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख सहभागी हुने यो सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउनुहुनेछ। जापानी उपनिवेशविरुद्ध चीनले विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना हुने विशेष सैन्य परेडमा पनि उहाँ सहभागी हुनुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र सोही सम्मेलनमा सहभागी हुन जाने भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार, भ्रमणका क्रममा नेपाल, चीन र भारतबीच त्रिपक्षीय भेटवार्ता को पनि बलियो सम्भावना रहेको र त्यसका लागि कूटनीतिक तयारी भइरहेको छ।
चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ। यद्यपि, दुवै देशको भ्रमणको मिति र एजेन्डाबारे औपचारिक घोषणा हुन भने बाँकी छ। यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउन गम्भीरताका साथ काम गर्न निर्देशन दिनुभएको थियो। उहाँले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने लक्ष्यमा सबै मन्त्रालयबीच समन्वय गरी सक्रिय योगदान दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सेवा प्रवाहमा स्वच्छता, पारदर्शिता र सुशासन कायम गर्न प्रविधिको प्रयोग बढाउन, दिगो विकासका लक्ष्य हासिल गर्न र सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टबाट नेपाललाई हटाउन सबैले आ(आफ्नो क्षेत्रबाट तदारुकता देखाउनुपर्नेमा जोड दिनुभएको थियो।