search logo
NOTIFICATIONS

देशभर वर्षा, धादिङ, नुवाकोट र लमजुङमा बाढीको उच्च जोखिमः सतर्कता अपनाउन आग्रह

हाम्रो पेज

९ भाद्र २०८२, सोमबार १२:३५

काठमाडौँ ९ भाद्र । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने बाढी पूर्वानुमान महाशाखाले केही जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै नदीतटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार, आज बिहान गण्डकी, लुम्बिनी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। दिनभर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। यसका साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरी चल्न सक्ने सम्भावनासमेत रहेको छ। वर्षासँगै देशका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढीको जोखिम औँल्याएको छ । धादिङ, नुवाकोट र लमजुङ भई बहने साना नदीहरूमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहेको छ। यस्तै ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने अनुमान छ। यद्यपि, आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, राप्ती र बबई लगायतका प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ।
काठमाडौँमा माइक्रोबस खोलामा खस्यो


आज बिहान काठमाडौँको तारकेश्वर नगरपालिका ७ स्थित साङ्ला खोलामा एक माइक्रोबस दुर्घटना भएको छ। काठमाडौँ-नुवाकोट सडक खण्डमा चल्ने बागमती प्रदेश ०१-००६ ज ०५६२ नम्बरको माइक्रोबस चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा अनियन्त्रित भई खोलामा खसेको हो। दुर्घटनाका समयमा गाडीमा चालक मात्र सवार रहेको र उनी सकुशल रहेकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।