जेनजीको पार्टी घोषणा, गरिखान देउ लक्ष्यः मिराज ढुंगाना

हाम्रो पेज

३१ आश्विन २०८२, शुक्रबार १४:४३

काठमाडौं, ३१ आश्विन । जेनजी आन्दोलनका अभियान्ता अभियानका संयोजक मिराज ढुंगानाले पार्टी घोषणा गर्नुभएको छ । शनिबार काठमाडौँमा होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उहाँले बताउनुभयो । सामाजिक संजालमा एक भिडिओ सार्वजनिक गर्दै उहाँले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताउनुभयो । राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ, उहाँले भन्नुभयो, जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने उहाँले बताउनुभयो । यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उहाँले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गर्नुभयो । ‘देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ। अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ’ उहाँको भनाइ छ । सुशीला कार्की सरकारले फागुन २१ गतेका लागि निर्वाचनको घोषणा गरेसँगै राजनीतिक दल खोल्न क्रम बढेको छ । पछिल्लो समय कुलमान घिसिङले समेत पार्टी घोषणा गरी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गर्नुभएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असोज १२ गते नै निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी दर्ता गराउनु भएको छ । बिहीबार मात्रै बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नुभएको छ । ।