
काठमाडौं २६ श्रावण । झन्डै दुई वर्षदेखि प्यालेस्टिनी सशस्त्र समूह हमासको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको पहलका लागि उहाँकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज ९सोमबार० इजरायल प्रस्थान गर्नुभएको छ। उहाँहरूलाई नेपालका लागि इजरायली राजदूतले बिदाइ गर्नुभएको थियो। यस यात्राका क्रममा जोशी परिवारले इजरायलका उच्च पदस्थ सरकारी अधिकारी, सैन्य प्रमुख र राजनीतिक नेताहरूसँग भेटघाट गरी विपिनको अवस्था पत्ता लगाउन र रिहाइका लागि दबाब दिनुहुनेछ। तेल अबिबस्थित नेपाली राजदूतावासले उहाँहरूको भेट इजरायली राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गराउनका लागि आवश्यक समन्वय गरिरहेको छ।पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल पुग्नुभएका २३ वर्षीय विपिन, सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरी बन्धक बनाउनुभन्दा करिब तीन हप्ताअघि मात्र त्यहाँ पुग्नुभएको थियो। दक्षिण इजरायलको एक कृषि फार्ममा कार्यरत रहँदा उहाँलाई अन्य विदेशी नागरिक र इजरायलीहरूसँगै बन्धक बनाएर गाजापट्टी लगिएको थियो। त्यसयता उहाँको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक भएको छैन।सोही दुःखद आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
