मोरङमा बाढीको उच्च जोखिमः प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह, यी नदी किनारमा खतरा

हाम्रो पेज

४ श्रावण २०८२, आईतवार १७:२६
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आपतकालीन सूचना जारी, बुढी, केसलिया, लोहन्द्रा, बक्राहा र चिसाङ लगायतका नदीमा पानीको बहाव बढ्दो क्रममा।

विराटनगर, ४ श्रावण। यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानसँगै मोरङ जिल्ला बाढी र पहिरोको उच्च जोखिममा परेको छ। अविरल वर्षाका कारण जिल्लाका प्रमुख नदी तथा खोलाहरूको जलसतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले आइतबार एक आपतकालीन सूचना जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाको पछिल्लो प्रतिवेदनलाई उद्धृत गर्दै प्रशासनले जिल्लाका बुढी, केसलिया, लोहन्द्रा, बक्राहा र चिसाङ लगायतका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, चुरे क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा बाढी, डुबान र कटान हुनसक्ने जोखिमको सम्भावना रहेको हुँदा तटीय क्षेत्रमा रहने सम्पूर्ण स्थानीय बासिन्दाहरूले आवश्यक सजगता र सतर्कता अपनाउनुहुन अनुरोध छ। प्रशासनले मनसुनजन्य विपद्को रोकथाम, नियन्त्रण, खोज, उद्धार तथा राहतका लागि स्थानीय तह, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, गैरसरकारी संस्थाहरू लगायत सबै सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सर्वसाधारणका लागि प्रशासनको विशेष अनुरोध
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई मनसुन अवधिभर अनावश्यक यात्रा नगर्न, तटीय तथा जोखिमयुक्त स्थानहरूमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन र आफ्नो टोल छिमेकमा कुनै पनि विपद्जन्य घटना भएमा तत्काल उद्धार कार्यका लागि नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ। कुनै पनि विपद् बाढी, पहिरो आदिको घटना भएमा वा सम्भावना देखिएमा तत्काल सहायता र समन्वयका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।