search logo
NOTIFICATIONS

आशिफको संघर्षपूर्ण अर्धशतकले पनि टरेन नेपालको हार, अस्ट्रेलियामा लगातार तेस्रो पटक निराश  

हाम्रो पेज

२ भाद्र २०८२, सोमबार ११:५५
एजेन्सी, २ भाद्र । ओपनर आशिफ शेखको संघर्षपूर्ण अर्धशतकका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा हारको शृंखलालाई निरन्तरता दिएको छ । विश्वकप छनोटको तयारीस्वरुप खेलिएको प्रतियोगितामा नेपालले आज बिहान सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित हुँदै लगातार तेस्रो हार बेहोरेको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । लगातारको हारले विश्वकप छनोटअघि टोलीको तयारीमा गम्भीर प्रश्न उठाएको छ । मेलबर्नले दिएको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गरेको थियो । ओपनर कुशल भुर्तेलले १३ बलमा ४ चौकासहित २५ रन जोड्दै आक्रामक सुरुवात दिलाए । तर, चौथो ओभर नेपालका लागि घातक बन्यो । उक्त ओभरको दोस्रो बलमा भुर्तेल आउट भए भने अन्तिम बलमा भीम सार्की मात्र १ रनमा पेभेलियन फर्किए । सुरुवाती झट्कापछि कप्तान रोहितकुमार पौडेल र आशिफ शेखले नेपाली इनिङ्सलाई सम्हाले । दुईबीच तेस्रो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी भएपछि नेपाल जिततर्फ उन्मुख देखिएको थियो । तर, रोहित ३१ बलमा ३३ रन बनाएर आउट भएसँगै नेपालको पतन सुरु भयो । एक छेउबाट टिकेर खेलिरहेका आशिफ शेखले ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाए पनि १७ औं ओभरमा दुर्भाग्यपूर्ण रनआउटको सिकार भए । त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्ल ११ रन ले पनि टोलीलाई जिताउन सकेनन् । अन्ततः नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । मेलबर्नका लागि वारेन र अस्टिनले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रनको बलियो योगफल तयार पारेको थियो । उसका लागि थोमस रोजर्सले ६५ रन र ब्लेक म्याकडोनाल्डले ७४ रनको उत्कृष्ट पारी खेले । नेपालको बलिङमा अनुभवी स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा मात्र २६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी र साहब आलमले १-१ विकेट लिए ।


नेपालले यही वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि यो सिरिज खेलिरहेको छ । छनोटमा नेपालसहित नौ टोलीले भाग लिनेछन्, जसबाट शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । अब नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध, शुक्रबार पाकिस्तान शाहिन्सासविरुद्ध खेल्नेछ । यो सिरिजपछि पनि नेपालले अस्ट्रेलियामै एक साता विशेष अभ्यास गर्नेछ । नेपाल क्रिकेट संघ क्यान का अनुसार नेपालले क्रिकेट एसिटीसँग अगस्ट २६ मा र साउथ अस्ट्रेलियासँग अगस्ट २८ मा दुई-दुई वटा टी २० खेल खेल्नेछ । यस्तै, अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्ने तालिका छ । अस्ट्रेलिया भ्रमण सकेर नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोलीमा रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र साहब आलम रहेका छन् ।