कैलाली कारागार रणभूमिःकैदीबन्दीबीचको भीषण झडपमा एकको मृत्यु, ४७ घाइते

हाम्रो पेज

२४ श्रावण २०८२, शनिबार १२:१०

धनगढी २४ श्रावण । कैलाली जिल्ला कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जना कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। शुक्रबार राति भएको यो दुःखद घटनाले क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी रहेको कारागारको सुरक्षा व्यवस्था र समग्र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शुक्रबार राति करिब ११ बजे कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप सुरु भएको थियो। उक्त झडपमा परी गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। लागुऔषध मुद्दामा थुनामा रहेका मृतक चौधरीको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। झडपमा घाइते भएका अन्य ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनालाई सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार गरिएको प्रहरीले जनाएको छ। अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घाइतेका आफन्त तथा सञ्चारकर्मीलाई समेत भित्र प्रवेशमा रोक लगाइएको छ, जसका कारण उनीहरूले आफ्ना मानिसको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्। यसअघि बिहीबार, साउन २२ गते पनि सोही समूहहरूबीच झडप हुँदा पाँच जना घाइते भएका थिए। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी गोगन हमालको पहलमा दुवै पक्षबीच मेलमिलाप गराइएको थियो। तर, मेलमिलाप गराएको भोलिपल्टै यो दुःखद र हिंसात्मक घटना घटेको छ । कैलाली कारागारमा १५० जनाको क्षमता रहेको यस कारागारमा हाल ७०० भन्दा बढी कैदीबन्दी राखिएको छ, जुन क्षमताभन्दा झण्डै पाँच गुणा बढी हो। जिल्ला प्रशासन कार्यालय, कैलालीले घटनालाई दुःखद भन्दै यस विषयमा गम्भीर छानबिन सुरु भइसकेको जनाएको छ। एक अनुसन्धान टोली गठन गरी घटनाको कारण र यसमा संलग्न दोषीहरूको पहिचान गर्ने काम अघि बढाइएको प्रशासनले बताएको छ।