हाम्रो पेज

विराटनगर, अषाढ २० । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा गम्भीर प्राविधिक समस्या आएपछि देशभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा ठप्प भएको छ। विभागले औपचारिक सूचना नै निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गरेको हो, जसका कारण लाइसेन्सको परीक्षा र ट्रायलका लागि तयारी अवस्थामा रहेका हजारौं सेवाग्राही मर्कामा परेका छन्। विभागको प्रणाली पूर्ण रूपमा बन्द हुँदा नयाँ लाइसेन्सका लागि लिइने लिखित परीक्षा, ट्रायल , लाइसेन्स प्रिन्ट, नवीकरण र अनलाइन आवेदनसमेत रोकिएका छन्। विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाका अनुसार केन्द्रीय सर्भर नै ‘डाउन’ भएपछि देशभरका यातायात कार्यालयहरूको काम पूर्ण रूपमा प्रभावित भएको हो। उहाँका अनुशार विभागको प्राविधिक टिम मर्मतको काममा जुटिरहेको छ। आज बेलुकासम्म समस्या समाधान हुने आशा गरेका छौं, तर सर्भर नै डाउन भएकाले केही जटिलता देखिएको छ। यो समस्याका कारण आज लिखित परीक्षा र ट्रायलका लागि विभिन्न यातायात कार्यालय पुगेका सयौं सेवाग्राही दिनभर अलपत्र परे। कार्यालयले सूचना टाँसेर सेवा बन्द भएको जानकारी दिएपछि उनीहरू निराश हुँदै फर्किएका छन्।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, “शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमति पत्र प्रणालीमा समस्या देखिएको छ। सो समस्या समाधानको कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा रोकिएको छ।” सूचनाअनुसार, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली लगायतका सबै सेवाहरू पूर्णतः बन्द भएका छन्। विभागले प्रणाली कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्नेबारे कुनै निश्चित जानकारी नदिएकाले सेवाग्राही थप अन्योलमा परेका छन्।