NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, ११अषाढ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष श्री केपी शर्मा ओलीले पार्टीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दै लेबी तथा सदस्यता शुल्क बुझाउनुभएको छ । उहाँले आज पार्टीको केन्द्रीय कार्यालय, थापाथलीस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा स्वयं उपस्थित भई उक्त रकम भुक्तानी गर्नुभएको हो ।
नेकपा एमालेको विधानमा व्यवस्था भएअनुसार, पार्टीका सबै सदस्य तथा लाभको पदमा रहेका नेता र कार्यकर्ताहरूले नियमित रूपमा लेबी तथा सदस्यता शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । यही प्रावधानको पालना गर्दै प्रधानमन्त्री ओलीले उदाहरणीय भूमिका निर्वाह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री पदमा आसिन भएबापत मासिक पच्चिस हजार रुपैयाँका दरले एक वर्षको लेबी र पार्टीको साधारण सदस्यता शुल्कबापत मासिक तीनसय रुपैयाँका दरले हुन आउने रकम एकमुष्ट रूपमा बुझाउनुभएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभए अनुसार, प्रधानमन्त्री ओलीले कुल तीनलाख तीन हजार छ सय रुपैयाँ भुक्तानी गर्नुभएको छ ।