
काठमाडौं, १, मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच दिउँसो ४ बजे पहिलो प्रतिस्पर्धा हुनेछ। यस वर्षका सबै खेल दिउँसो र राति गरी त्रिवि मैदानमै आयोजना गरिने छन्। क्यानले दैनिक ९,४५० टिकट मात्र बिक्री गर्ने बताएको छ भने उद्घाटन खेलको टिकट तीन दिनअगाडि नै सकिएको छ। क्यानका सचिव पारस खड्काले धेरै दर्शक क्षमता नभएकाले भर्खरै टिकट नपाएका समर्थकलाई घरमै बसेर खेल हेर्न आग्रह गर्नुभएको छ । नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’ एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेदेखि काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्। शनिबारका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ। लिग तथा अन्य दिनका खेलमा टिकटदर ५०० र १,००० रुपैयाँ रहनेछ। प्लेअफपछि साधारण टिकट १,००० र प्रिमियम २,००० रुपैयाँ हुनेछ। सिजनल टिकटको मूल्य १५,००० रुपैयाँ तोकिएको छ। यस पटक जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्। प्रतियोगिताको दोस्रो दिन मंगलबार पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा हुनेछन्।

