मोरङमा १८ जना विद्यार्थीले ल्याए ४ जीपीए, कुन विद्यालयबाट कति ?

हाम्रो पेज

१४ असार २०८२, शनिबार २१:५९
विराटनगर, १४ अषाढ I शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा मोरङबाट १८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । जसमा सबैभन्दा बढी निजि तथा आवसीय विद्यालय बाल कल्याण विद्या मन्दिर ( बिकेभिएम) बाट ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन । यस्तै दोस्रोमा सामुदायिक विद्यालय आर्दश मा.वि.बाट ४ र पोखरियाबाट एक जनाले ४ जीपीए ल्याएका छन् । यसबाहेक ४ जीपीएल ल्याउने विद्यालयहरुमा निजि तथा आवसीय विद्यालय नै रहेका छन् । जसमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगरबाट २, बाल्मिकी मेमोरियल बोडिङ सेकेण्डरी स्कुल पथरीबाट २, जेम्स इन्टरनेशन विराटनगरबाट १ र कान्तिपुर सकेण्डरी स्कुल विराटनगरबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् ।
एसईईमा विराटनगर स्थित एभरेष्ट सेकेण्डरी स्कुलबाट १ सय ७१ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए ल्याएका छन् । यस्तै बाँकी ३८ जना विद्यार्थीले समेत ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए ल्याएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

यस्तै सेन्टजोसेफ विद्यालयबाट ५१ जनाले ए प्लस ल्याएका छन भने, ३३ जनाले ए र २ जनाले बी प्लस ल्याउन सफल भएका छन् । यस्तै विराटनगरस्थित मोर्डन एराबाट ७० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा ३५ जनाले ए प्लस, ३२ जनाले ए र ३ जनाले बी प्लस ग्रेड ल्याएको विद्यालयका छन् । यस्तै ६ जना विद्यार्थीले ४ जीपीए ल्याएको बीकेभिएमबाट २१४ विद्यार्थीले ए प्लस, ५३ जनाले ए र ३ जनो बी प्लसको ग्रेड ल्याएका छन् । यस्तै कान्तिपुरबाट ११ जनाले ए प्लस,४१ जना ए र ७ जनाले बी प्लस ग्रेड हासिल गरेका छन् । यस्तै विराटनगरकै सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको रोजाइमा पर्न सफल पोखरिया स्कुलबाट ४६४ परीक्षार्थी परीक्षामा सहभागी भएकामा एक जना ४ जी पी एसहित २१६ जना ए प्लस, २११ जना ए, २४ जना बी प्लस, २ जना बी र ५ जना ग्रेडविहीन रहेका छन् । यस्तै आर्दश माविमा ३२९ जना विद्यार्थीहरू सहभागी भएकामा १३६ जनाले ए एप्लस नतिजा ल्याएका छन् भने ११८ जनाले ए र ४३ जनाले बी प्लसको ग्रेड ल्याएका छन् ।

यसैगरी विराटनगरकै लिलिपुट स्कुलबाट एसईई दिएका ७जनामा सबैले ए प्लसको नतिजा ल्याएका छन् भने विराटनगरको हेरिटेज इन्टरनेशन स्कुलका पहिलो ब्याजका ९ जना विद्यार्थीमा ८ जनाले ए प्लस र एक जनाले ए ग्रेड ल्याएका छन् । देशभर नतिजाअनुसार, ३ दशमलव ६ देखि ४ सम्म ४८ हजार १७७ जना, जिपिए ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ८१ हजार ३८५ जना, जिपिए २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ८९ हजार १२४ जना, जिपिए २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ४८ हजार ४७९ जना, जिपिए २ दशमलव ० देखि २ दशमलव ४ सम्म ४१२६ जना, जिपिए १ दशमलव ६ देखि २ दशमलव ० सम्म ८ जना वर्गीकृत भएका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १ लाख ६७ हजार ५९७ रहेको छ ।