दैलेखमा एक अर्ब १२ करोड घनमिटर ग्यासको विशाल भण्डारः ५० वर्षलाई पुग्ने प्रतिवेदन

हाम्रो पेज

५ असार २०८२, बिहीबार १५:११
काठमाडौं, ५ अषाढ I पेट्रोलियम पदार्थमा पूर्ण रूपमा परनिर्भर रहेको नेपालका लागि एक ऐतिहासिक र सुखद खबर बाहिरिएको छ। दैलेखको जलजलेमा नेपाललाई करिब ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको विशाल भण्डार रहेको चिनियाँ विज्ञ टोलीले पुष्टि गरेको छ। यो प्रारम्भिक रिपोर्टले देशको ऊर्जा सुरक्षा र आर्थिक भविष्यमा कायापलट ल्याउन सक्ने एउटा सुनौलो ढोका खोलेको छ।

चीनको सरकारी निकाय ‘चाइना जिओलोजिकल सर्भे’ र ‘सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनी’ले २०८० वैशाखदेखि दैलेखमा सुरु गरेको ४,००० मिटर गहिरो ड्रिलिङ र नमुना परीक्षणपछि यो उत्साहजनक नतिजा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, प्रारम्भिक रिपोर्टले दैलेखको जलजलेमा मात्रै १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास को भण्डार रहेको पुष्टि गरेको छ । मन्त्री भण्डारीले भन्नुभयो, “चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट मात्रै नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ। विस्तृत रिपोर्ट आएपछि हामी उत्पादन प्रक्रिया सुरु गर्नेछौं।” यस परियोजनाका लागि करिब ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। मन्त्रालयका अनुसार, दैलेखका विभिन्न चार स्थानमा गरी करिब ४३० अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रारम्भिक अनुमान छ। यो सफलताबाट उत्साहित हुँदै सरकारले अब दाङ, पाल्पा र सुनसरी मा पनि परीक्षण र अन्वेषण कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने तयारी गरेको छ। चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ। सोही प्रतिवेदनका आधारमा डिसेम्बरभित्रै व्यावसायिक उत्पादनको परीक्षण सुरु गर्ने गरी सरकारले तयारी थालेको छ।
मिथेन ग्यास पेट्रोल(डिजेलको विकल्पमा एक स्वच्छ र बहुउपयोगी इन्धन हो। खानी तथा भूगर्भ विभागका अनुसार, यो ग्यासलाई
गाडी चलाउन, बिजुली उत्पादन गर्न, घरायसी प्रयोजनमा बत्ती बाल्न र खाना पकाउन, हाइड्रोजन छुट्याएर रासायनिक मल कारखाना सञ्चालन गर्न प्रयोग गर्न सकिन्छ। यो सफलताको जग २०७२ सालको भारतीय नाकाबन्दीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राखेको थियो, जसले चीनलाई नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आग्रह गरेको थियो। सन् १९९७ देखि व्यवस्थित रूपमा सुरु भएको नेपालको पेट्रोलियम अन्वेषण यात्राले आज आएर एउटा सार्थक मोड लिएको छ।