हाम्रो पेज
विराटनगर, २१ श्रावण । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको क्रिकेट महाकुम्भ सुरु हुनुअघि खेलाडी अक्सनको रोमाञ्चले नेपाली क्रिकेट जगतलाई तताएको छ।
नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबार हुने मिनी अक्सनका लागि १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेसँगै सबैको ध्यान अब खेलाडीको बोल कबोलमा केन्द्रित भएको छ। दर्ता भएका ४५८ खेलाडीबाट छनोट भएका यी १५० भाग्यमानीमध्ये पनि केवल ३७ खेलाडीले मात्रै विभिन्न टोलीमा स्थान बनाउनेछन्, जसले गर्दा यो अक्सन निकै प्रतिस्पर्धात्मक र रोचक हुने निश्चित छ।
अक्सनको सबैभन्दा आकर्षक मानिएको श्रेणी ए मा आठ उत्कृष्ट खेलाडीहरूले स्थान बनाएका छन्, जसले यो श्रेणीलाई प्रतिष्ठाको लडाइँ बनाइदिएको छ। यो सूचीमा पूर्व राष्ट्रिय खेलाडी शरद भेषावकर, युवा प्रतिभाहरू देव खनाल, अर्जुन साउद, दिलिप नाथ, सूर्य तामाङ, र चोटबाट पुनरागमन गर्न लागेका पवन सर्राफ जस्ता बलिया नामहरू छन्। तर, सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा मोहम्मद आदिल अन्सारीको नाम रहेको छ।
नेपाल टी २० लिगमा स्पट फिक्सिङको गम्भीर आरोप लागेपछि प्रतिबन्धमा परेका आदिलले अदालतबाट सफाइ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट पूर्ण फुकुवा पाएपछि पहिलोपटक ठूलो व्यावसायिक लिगको अक्सनमा सनसनीपूर्ण पुनरागमन गरेका हुन्। उनको यो पुनरागमनलाई क्रिकेट पण्डित र समर्थकहरूले निकै नजिकबाट नियालिरहेका छन्। गत संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका अर्जुन साउद र सूर्य तामाङ, पोखरा एभेन्जर्सबाट खेलेका दिलिप नाथ, कर्णाली याक्सबाट खेलेका देव खनाल र चितवन राइनोजबाट खेलेका शरद भेषवाकर जस्ता अनुभवी खेलाडीहरू श्रेणी ए मा छन्, जसले अक्सनको प्रतिस्पर्धालाई थप तताउनेछ। एनपिएलका ८ टोलीले पहिलो संस्करणका ५१ खेलाडीलाई मार्की समेत आफ्नो टोलीमा रिटेन गरिसकेका छन्। यसको अर्थ, अब टोलीहरूले आफ्नो स्क्वाड पूरा गर्न जम्मा ३७ खेलाडी मात्रै अक्सनबाट खरिद गर्नेछन्। श्रेणी ‘ए’मा अब आवश्यकता ४ खेलाडी छन् । उनीहरुले न्यूनतम १० लाख – अधिकतम १५ लाखसम्म पाउने छन् । श्रेणी ‘बी’मा २३ खेलाडी छनोट हुनेछन् । उनीहरुले न्यूनतम ५ लाख र अधिकतम १० लाख पाउने छन् । श्रेणी ‘सी’ मा १० खेलाडी छानिने छन् । उनीहरुले न्यूनतम २ लाख – अधिकतम ५ लाख पाउनेछन् । अक्सनको नियम अझ रोचक छ। श्रेणी ए मा रहेका ८ खेलाडीमध्ये ४ जना मात्रै छानिनेछन्।
तर, सुरुमा बोली नलागेका खेलाडी स्वतः श्रेणी बी मा झर्नेछन्, जसले गर्दा श्रेणी बी को प्रतिस्पर्धा झनै तातो र अप्रत्याशित हुने देखिन्छ। आगामी शनिबार हुने यो मिनी(अक्सनले एनपिएलको दोस्रो संस्करणका लागि सबै टोलीको अन्तिम रूपरेखा तय गर्नेछ र कुन टोलीले कस्ता खेलाडी भित्र्याएर आफ्नो रणनीतिलाई पूर्णता देला, त्यो हेर्न अब धेरै दिन कुर्नुपर्ने छैन।
