नेपाली नोटमा नेपाल संवत्, प्रधानमन्त्रीले निर्वाचनका कारण भ्रष्टचारीलाई नछाड्ने

हाम्रो पेज

५ कार्तिक २०८२, बुधबार १३:४२

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा वसन्तपुरमा बोल्दै प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको नागरिक सरकार निर्वाचनको तयारीमा दत्तचित्त भएर लागेको बताउनु भयो । ‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ,’ उहाँले भन्नुभयो , ‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ।’प्रधानमन्त्रीले सरकारले राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्दै निर्वाचनको तयारी अघि बढाइरहेको पनि बताउनुभयो । कार्कीले भन्नुभयो, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ।’ उहाँले निर्वाचनलाई प्राथमिकता दिइएको भए पनि सुशासन र भ्रष्टाचारविरुद्धको अभियान रोकिएको छैन भन्ने स्पष्ट पारिन्। ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन। नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो। प्रधानमन्त्रीले समाजका सबै पक्षको सहकार्य र नागरिक सचेतताका साथ लोकतन्त्रलाई सुदृढ बनाउने आह्वान पनि गर्नुभयो ‘आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ,’ उहाँले भन्नुभयो । यस्तै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको उहाँको भनाई छ । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभएपनि उहाँ नाफा कमाउने व्यापारी नभएको उहाँले बताउनु भयो । साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उहाँको भनाई छ । उहाँकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताउनु भयो । विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ । नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो । शंखधर साख्वा काठमाडौको मधुसत्तन ईलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो । तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सिमित थिएन । एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरि ऋणको भारबाट पिडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो । उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरुप विं।सं ९३६ मा नेपाल संवतको थालनी गरियो । यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च छ । अर्थात यो लोकस्तरबाट उत्पति भएको र लोक विरासत बोकेको संवत हो ।’ प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवद्र्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताउनु भयो । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।