हाम्रो पेज
एजेन्सी, २६ जेठ I अमेरिकी सपनाको खोजीमा लाखौं खर्च गरेर अवैध बाटो हुँदै त्यहाँ पुगेका ३७ जना नेपालीलाई अमेरिकी सरकारले निष्कासन (डिपोर्ट) गरी नेपाल फर्काइदिएको छ।
आइतबार राति ओम्नि एयर इन्टरनेसनलको चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले सामान्य सोधपुछपछि घर पठाएको छ। अमेरिकाको एरिजोना र हवाईबाट बंगलादेशको ढाका हुँदै काठमाडौं ल्याइएका उनीहरूमध्ये ३२ जना पुरुष र ५ जना महिला छन्। उनीहरूमध्ये धेरैजसोले पनामाको जङ्गल जस्तो खतरनाक बाटो छिचोल्दै मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गरेका थिए। त्यहाँ पुगेपछि ‘शरणार्थी’ को मान्यता पाउने आशामा संघर्षरत रहेकै बेला अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (इमिग्रेसन कस्टम इन्फोर्समेन्ट) ले उनीहरूलाई पक्राउ गरी लामो समय थुनामा राखेर निष्कासन गरेको हो।
डीभी विजेता र विद्यार्थी पनि डिपोर्टको सूचीमा
फर्काइएका ३७ जनामध्ये ३५ जना अवैध रूपमा अमेरिका प्रवेश गरेको पाइए पनि दुई जना भने वैधानिक बाटोबाटै गएका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार, एक जना डाइभर्सिटी भिसा (डीभी) मा र अर्का एक जना अध्ययन भिसामा अमेरिका पुगेका थिए।
१० वर्षअघि डीभी परेर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्ति पारिवारिक विवादमा परेपछि पक्राउ परेका थिए। कानुनी प्रक्रियापछि अमेरिकी प्रशासनले उनलाई डिपोर्ट गर्ने निर्णय गरेको हो। डीभी विजेता भएकाले उनको विषयमा ब्युरोले धेरै अनुसन्धान नगरी सामान्य विवरण लिएर छाडिदिएको छ।
डिपोर्ट भएर फर्केकाहरूले अमेरिका पुग्नका लागि बिचौलियालाई ८० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन्। तर, उनीहरूलाई पठाउने गिरोहबारे प्रहरीलाई कुनै जानकारी दिन मानेनन्। फर्किनेहरूमध्ये धेरैजसो दाङ, पूर्वी रुकुम, पश्चिम रुकुम, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका छन्।
यो पहिलो पटक होइन, यसअघि २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ जना नेपालीले पनि आफूहरूलाई पठाउने गिरोहबारे सूचना दिन र जाहेरी दिन अस्वीकार गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिएपछि नेपालीहरू डिपोर्ट हुने क्रम बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०२५ को जनवरीदेखि मे महिनाको अवधिमा मात्रै १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट भएका छन्। विगतका वर्षहरूको तुलनामा यो संख्या निकै उच्च हो। अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली डिपोर्ट भएका थिए। अमेरिकाको सपनामा आफ्नो सर्वस्व गुमाएर रित्तो हात फर्किएका यी नेपालीहरूको कथाले अवैध आप्रवासनको भयावह तस्वीरलाई उजागर गरेको छ।