हाम्रो पेज
एजेन्सी, १९ जेठ । तीनवर्षअघि रुसले आक्रमण गरेपछि एकअर्काविरुद्धको भीषण युद्धमा उत्रिएका युक्रेन र रूसबीच युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ।
आइतबार युक्रेनले रूसी हवाई अड्डाहरूलाई लक्ष्य गरेर अहिलेसम्मकै ठूलो परिमाणमा ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। द न्युयोर्क टाइम्सका अनुसार युक्रेनले रूसको पूर्वी साइबेरियादेखि पश्चिमी सिमासम्म ड्रोन हमला गरेको थियो। युक्रेनको यो हमलालाई अहिलेसम्मको समन्वयात्मक र सटिक हमला भनिएको छ। हमलाको रणनीतिको निरीक्षण राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले निरीक्षण गर्नुभएको उल्लेख छ ।
युक्रेनी ड्रोन हमलाबाट रूसका धेरै हवाइ अड्डाहरुमा सैन्य विमानहरू आगोको लप्कामा जलिरहेका फोटो र भिडिओहरू समेत सार्वजनिक भएका छन्। आइतबार रूसले युक्रेनको सैन्य इलाकालाई लक्ष्य गरेर हवाइ आक्रमण गरेको थियो। जुन हमलामा १२ सैनिक मारिएका थिए। युक्रेनले त्यसको बदलामा रूसको हवाई अड्डालाई लक्ष्य बनाएको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ। रूसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरूले रूसका पाँच ठाउँका हवाई अड्डालाई लक्ष्य बनाएको बताएको छ। नर्वेको सीमानजिकको मर्मन्स्क, पूर्वी साइबेरियाको इरकुत्स्क लगायत विभिन्न राज्यका हवाई अड्डाहरुमा सैन्य विमानहरूमा आगो लागेको रूसी रक्षा मन्त्रालयले जनाएको छ। यो आक्रमण रुसको सैन्य स्रोतहरूलाई कमजोर पार्न अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण थियो । युक्रेनले यो अपरेसनलाई स्पाइडरवेब नाम दिएको छ । यस आक्रमणका कारण रुसले ७ अर्ब डलरको ठुलो क्षति बेहोरेको अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) ले युक्रेनले प्रहार गरेको ड्रोनले रूसका विभिन्न हवाई अड्डामा रहेका ४० वटाभन्दा बढि जहाजमा क्षति पुगेको जनाएको छ। ए–५०, ट्युपोलेभ टीयू–९५ र टियू–२५ जहाजहरू युक्रेनी ड्रोन हमलाबाट ध्वस्त भएको बताइएको छ। आक्रमणबाट मानवीय क्षति भने नभएको मन्त्रालयलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। एपीका अनुसार युक्रेनले रूसी भूभागबाटै रूसमा हमला गरेको थियो। त्यसका लागि ड्रोनहरू तस्करी गरेर रूस पुर्याएको थियो। ड्रोनहरू रूसी भूभागमा पुर्याएपछि त्यहाँ रहेका काठका घुम्ती घरहरूमा लुकाएर राखिएको र त्यहीँबाट निशाना लगाइएको एपीले जनाएको छ।
राष्ट्रपति जेलेन्स्कीले आइतबार ११७ वटा ड्रोनले रूसी हवाई अड्डामा हमला गरिएको बताउनु भएको छ । यसले टर्कीएको इस्तानबुलमा सोमबार दुई देशका अधिकारीहरूबीच हुने भनिएको वार्ता पनि अनिश्चित बनेको छ। इस्तानबुलमा अघिल्लो पटक भएको वार्तामा युद्धविरामबारे छलफल र निर्णय भएको थिएन। त्यतिबेला युद्धविरामको प्रस्तावबारे दुवै देशका अधिकारीहरूले आ–आफ्ना देशका उच्च अधिकारीहरूसँग छलफल गर्ने भनेका थिए। त्यो छलफलपछि दुवै देशले १/१ हजार युद्धबन्दी छाडेका थिए। वार्ता भएकै भोलिपल्ट पनि रूसले युक्रेनमाथि आक्रमण गरेको थियो। उसले राजधानी किभलाई लक्ष्य गरेर ड्रोन र मिसाइल हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अहिले रुसले युक्रेनको करिब २०% भूभाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा कब्जा गरिएको दक्षिणी क्राइमिया प्रायद्वीप पनि पर्छ ।