search logo
NOTIFICATIONS

भोजपुर नरसंहारको नालीबेलीः ‘परिवारै सखाप पार्छु’ भन्ने धम्की, ४ जनाको हत्यापछि प्रहरीलाई फोन– ‘मैले मारें, लिन आउनुस्’

हाम्रो पेज

२२ असार २०८२, आईतवार १४:०३

विराटनगर, २२ अषाढ । भोजपुरको रामप्रसाद राई गाउँपालिका यतिबेला शोकमा छ । आइतबार बिहानै स्थानीय जनप्रतिनिधि घटनास्थलमा पुग्दा कुखुरा, बाख्रा घरमा कराइरहेका थिए, परिवारका सदस्यहरूको लाश घरभरी लडेको अवस्थामा थियो। बुवा र छोरीको शवसँगै लडिरहेको थियो, दैलो छेउमा छोरा थिए भने आमा केही पर रहेकी थिइन । रामप्रसाद राई गाउँपालिका २ की वडा सदस्य प्रभा राई तामाङले संचारकर्मीहरुलाई घटनाका बारेमा सुनाएको यो दृश्यले भोजपुरको धोदलेखानीमा भएको वीभत्स पारिवारिक नरसंहारको क्रूरता बयान गर्दछ । शनिबार राति, ३० वर्षीय ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरालीका चार सदस्यको छुरा प्रहार गरी हत्या गरे र त्यसपछि आफैंले प्रहरीलाई फोन गरेर अपराध स्वीकारे। शनिबार राति करिब ११ बजे, भोजपुर नगरपालिका २, हेलौंछा घर भएका राजेन्द्र राईले आफ्ना ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, १६ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरे। हत्याको करिब दुई घण्टापछि, मध्यरात १ बजे, उनले प्रहरी कन्ट्रोलमा फोन गरे। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक दीपक श्रेष्ठका अनुसार, राजेन्द्रले फोनमा भने, मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस्। यो संवेदनशील सूचनापछि प्रहरी घटनास्थल पुग्दा घर रगतले लतपतिएको थियो।
घटनाको जडः अनमेल विवाह, कुलत र निरन्तरको यातना


प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको पछाडि लामो समयदेखिको पारिवारिक कलह र घरेलु हिंसा मुख्य कारण रहेको देखाएको छ। राजेन्द्रले १६ वर्षीया नाबालिग मनिषालाई गत असोजमा भगाएर दोस्रो विवाह गरेका थिए। उनको यो विवाह दर्ता भएको थिएन। वडा सदस्य प्रभा राईका अनुसार, राजेश र मनीषाबीच करिब एक वर्षअघि प्रेम विवाह भएको हो । पछिल्लो समय राजेन्द्रकी श्रीमती माइतमै बस्न थालेपछि उनीहरूको कलह सुरु भएको हो । प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रको यसअघि पनि विवाह भएर छुटेको खुलेको छ । मनीषा र राजेन्द्रबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर विवाहमा परिणत भएको खुलेको छ । स्थानीयका अनुसार, राजेन्द्र लागुपदार्थको कुलतमा थिए। उनले श्रीमती मनिषालाई निरन्तर शारीरिक र मानसिक यातना दिने गरेका थिए। यातना सहन नसकेपछि मनिषा डेढ महिनाअघि माइतीघर फर्केकी थिइन्। उनलाई फिर्ता लैजान राजेन्द्र १५ दिनदेखि ससुरालीमै बसिरहेका थिए। यसै क्रममा उनले श्रीमतीलाई धम्की दिँदै भनेका थिए, मसँग नजाने भए तिम्रो परिवारै सखाप पारिदिन्छु। छिमेकीले घर झगडा भन्दै बेवास्ता गरे, परिवारले ‘मिलेर बस्लान्’ भन्ने आशमा ज्वाइँलाई घरमै राखिरह्यो। तर, त्यही मौनता र आशा अन्ततः सिंगो परिवारका लागि घातक बन्यो।

प्रहरीले राजेन्द्रलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर परबाट घाइते अवस्थामा पक्राउ गरेको छ। पेटमा चोट लागेका उनलाई उपचारका लागि धरान पठाइएको छ। प्रारम्भिक बयानमा उनले उल्टै सासूबाट आफ्नो हत्या प्रयास भएको दाबी गरेका छन्। उनले भनेका छन् ,राति सुतिरहेको बेला सासूले मलाई पेटमा छुरा हानिन्, मैले त्यही छुरा खोसेर प्रतिकार गरेको हुँ। तर, स्थानीय जनप्रतिनिधि र प्रहरीको अनुमान छ कि उनले चार जनाको हत्यापछि आत्महत्याको प्रयास गर्दा आफैंलाई चोट पुर्‍याएका हुन्। गाँजा, ट्याब्लेट खाएर दिनरात कुटपिट गर्दा पनि मनिषाले प्रहरी वा जनप्रतिनिधिलाई भनेको भए केही उपाय लाग्नसक्थ्यो, घटनापछि जनप्रतिनिधिले भनेका छन् ।