हाम्रो पेज
काठमाडौं,२७ फाल्गुन । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँडको काम अगाडि बढ्नेछ । बुधबार बिहान गोरखा १ र इलाम१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको जीसीले बताउनुभयो । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने उहाँले बताउनुभयो ।

आज बिहानसम्मको समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। गणना भएकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ५१ लाख ४८ हजारमत सहित अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले १७ लाख ५४ हजार , नेकपा एमालेले १४ लाख ५१ हजार, नेपाली कम्युनिस्ट पार्टी नेकपाले आठ लाख ९ हजार मत पाएको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार मत हासिल गरेका छन्। अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा नदेखिएको निर्वाचन आयोगले जनाएको छ। ‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भन्नुभयो । दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनस् हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।