हाम्रो पेज
काठमाडौं, ५ अषाढ I देशका अधिकांश भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले जल तथा मौसम विज्ञान विभागले ४४ जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायु तथा देशका बाँकी भू भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।
दिउँसो देशभरका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ।राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा जारी रहनेछ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
बाढी र नदीको अवस्थाः ४४ जिल्लामा सतर्कता
बाढी पूर्वानुमान महाशाखाले नदीनालामा पानीको बहाव बढ्न सक्ने भन्दै निम्न क्षेत्रहरूमा सतर्कता अपनाउन सुझाव दिएको छ । काठमाडौं उपत्यका, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, चितवन, नवलपुर, पाल्पा, रुपन्देही, बाँके, बर्दिया, डोटी, डडेलधुरा लगायत ४४ जिल्ला भई बहने अधिकांश साना नदीहरूमा पानीको बहाव बढ्ने अनुमान छ। तसर्थ, नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच, चीनको प्रहरी कार्यालयको हवाला दिँदै भोटेकोशी र सुनकोशी क्षेत्रमा अत्यधिक वर्षा हुने भनी फैलिएको सूचनाप्रति जल तथा मौसम विज्ञान विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। विभागले हालको मौसम विश्लेषणअनुसार, सिन्धुपाल्चोकका नदी क्षेत्रमा मनसुनको प्रभाव कमजोर रहेकाले हल्कादेखि मध्यम वर्षा को मात्र सम्भावना रहेको स्पष्ट पारेको छ। यसले गर्दा अनावश्यक हल्ला र त्रासबाट बच्न पनि विभागले सबैलाई अनुरोध गरेको छ। यस्तै मनसुनी वर्षाको समयमा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च हुने भएकाले सबैलाई आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक जानकारीमा ध्यान दिन आग्रह गरिएको छ।
लगातारको वर्षाले नदी र खोलाहरूमा पानीको सतह बढेको छ भने पहाडी क्षेत्रमा पहिरोले सडक सञ्जाललाई तहसनहस बनाएको छ।
पूर्ण रूपमा अवरुद्ध सडकहरूः
अरनिको राजमार्ग सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङ गरी तीन ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरुद्ध छ।
महेन्द्र राजमार्ग नवलपुरमा विनयी त्रिवेणी गाउँपालिकामा बाढीले राजमार्ग बगाउँदा गाडीको लामो लाइन लागेको छ र हजारौं यात्रु अलपत्र परेका छन्।
बेनी जोमसोम सडक म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको रुप्सेमा पहिरो खस्दा अवरुद्ध छ।
भेरी करिडोरको डोल्पामा त्रिपुरासुन्दरी नगरपालिकाको छलघाटमा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
एकतर्फी सुचारु भएका सडकहरूः
प्रहरीका अनुसार, अवरुद्ध भएका अन्य सडकहरूलाई एकतर्फी रूपमा खुलाइएको छस्
रवि राकेभेडेटार सडक धनकुटा
विपी राजमार्ग काभ्रे
नारायणगढ मुग्लिन सडक चितवन
कालीगण्डकी करिडोर गुल्मी
जुम्ला-मुगु सडक जुम्ला
प्रहरी प्रवक्ता, डीआईजी विनोद घिमिरेले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको र यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गर्नुभएको छ।
