तिहारको पाँचौ दिन आज गाई र गोरु तिहार मनाईंदै, म्हः पूजा पनि आजै

हाम्रो पेज

५ कार्तिक २०८२, बुधबार ०७:३०
विराटनगर, ५ कार्तिक । यमपञ्चक अर्थात तिहार अन्तर्गत आज गाईंगोरु, गोबद्र्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनि सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । यस्तै आजै गोरु, किसान र हलोको पनि पूजा गरिंदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । यो वर्ष तिथिको घटबढका कारण पाँच दिनमा सकिने तिहार ६ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

म्हः पूजा आजै, नेपाल सम्बत् ११४६ शुरु
आज नेवार समुदायमा म्हः अर्थात आत्म पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।

यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदैछन् । आजदेखि नेपाल संवत ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।