मतगणना शुरु भएको २४ घण्टाभित्रै मतपरिणाम, तारजाली भित्र मतगणना हुने

हाम्रो पेज

२० फाल्गुन २०८२, बुधबार १६:२६

काठमाडौं, २० फाल्गुन । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिनुभएको हो । उहाँले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताउनु भयो । त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं ।’ विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको बताउनु भयो । यस्तै मतदान सम्पन्न भएलगत्तै शुरु हुने मतगणना कार्यलाई सुरक्षित, विवादरहित र छिटोछरितो बनाउन निर्वाचन आयोगले देशभरका मतगणना स्थलहरूमा कडा सुरक्षा र प्राविधिक व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव कृष्णबहादुर राउतकाअनुसार देशैभरका मतगणना स्थलहरूको तयारी पूरा भइसकेको छ । विगतका निर्वाचनहरूमा मतगणनाका क्रममा मतपत्र च्यात्ने वा हुलहुज्जत हुने जस्ता घटनाहरूलाई मध्यनजर गर्दै यसपटक मतगणना स्थलमा अनिवार्य रूपमा तारजाली र सिसीटिभी क्यामेराको व्यवस्था गरिएको बताउनु भयो । यी सबै व्यवस्थापनका कार्यहरू सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालयबाट सम्पन्न गरिएको सचिव राउतले बताउनु भयो । आयोगले मतगणनासँग सम्बन्धित ऐन, नियमावली र निर्देशिकालाई टेकेर थप परिपत्र समेत जारी गरिसकेको छ । उहाँले भन्नुभयो, ‘ हाम्रो मतगणनासँग सम्बन्धित विषय हाम्रो ऐन, नियमावली, निर्देशिका र आयोगले फेरि परिपत्र पनि जारी गरिसकेको अवस्था छ । त्यो कानूनी व्यवस्थाअनुसार अहिले अलिकति मतगणनालाई छिटो बनाउनको लागि थप प्राविधिक व्यवस्थाहरु पनि त्यहाँ गरेका छौँ र मतगणना स्थलको सुरक्षाको सन्दर्भमा तारजाली राख्ने सिसीटिभी राख्ने लगायतका सबै व्यवस्थाहरु र उपयुक्त किसिमको हल खोजेर सोहीअनुसारको व्यवस्थापनको कार्य पनि हामीलाई हिजोसम्म सबै जिल्लाहरुबाट रिपोर्ट भइसकेको छ । त्यो किसिमको व्यवस्थापन सम्बन्धित मुख्य निर्वाचन अधिकृतज्युहरुको कार्यालय र निर्वाचन अधिकृतज्युहरुको कार्यालयबाट भइसकेको अवस्था छ ।’ मतगणना कार्यलाई विगतको तुलनामा छिटो सम्पन्न गर्नका लागि थप प्राविधिक व्यवस्थाहरू समेत गरिएको सचिव राउतले बताउनु भयो । भोलि विहीबार हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि आयोगले जनाएको छ।