हेरिटेज इन्टरनेशनलका विद्यार्थी बने ब्लक बेस कोडिङ च्याम्पियन

हाम्रो पेज

१७ फाल्गुन २०८२, आईतवार १२:४८

विराटनगर, १७ फाल्गुन । मेरो कोडिङ क्लास र क्लोभ आईटी विराटनगरको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको जुनियर कोड फिस्टअन्र्तगत ब्लक बेस्ड कोडिङ विधा तर्फ हेरिटेज इन्टरनेशनल स्कुल विराटनगरका विद्यार्थी च्याम्पियन बनेका छन् । ७ स्कुलका १६ विद्यार्थीहरु टिमको सहभागिता रहेको प्रतिस्पर्धामा हेरिटेजबाट प्रतिनिधित्व गरेका कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ मा अध्ययनरत उत्कर्ष रोहन दासको टिम च्याम्पियन बनेको हो । हेरिटेजका विद्यार्थीहरुले तयार पारेको जमेट्री ड्यास ब्लक बेस्ड कोडिङतर्फ उत्कृष्ट बनेको हो । ब्लक बेस्ड कोडिङतर्फ च्याम्पियन बनेका विद्यार्थीहरुले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लोभ आईटी विराटनगरका प्रवन्ध निर्देशक नरेन्द्र कर्णले जानकारी दिनुभयो । हेरिटेजको यही टिमले २ साता अघि मेरो कोडिङले काठमाडौंमा आयोजना गरेको देशब्यापी कोडिङ किकस्टार्टमा फाइनल चरणसम्म आफ्नो स्थान बनाएको थियो ।

यस्तै जुनियर कोड फिस्टअन्र्तगत एप डेभ्लपमेन्टतर्फ मदर टेरेसाका तीन विद्यार्थीको समूह र आइओटी एन्ड रोबोटिक्सतर्फ ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुल विराटनगरका ३ विद्यार्थीको समूह च्याम्पियन बनेको छ । यी दुई विजेता समूहका विद्यार्थीहरुले पनि सामूहिक रुपमा २५ हजारको पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ब्लक बेस्ड कोडिङ विधा तर्फ ३ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थी, एप डेभ्लपमेन्टतर्फ ६ र ७ कक्षा तथा आइओटी एन्ड रोबोटिक्सतर्फ कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । तीनै विधाका च्याम्पियन विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि मेरो कोडिङका प्रवन्ध निर्देशक सविन कार्की , क्लोभ आईटीका प्रवन्ध निर्देशक कर्णलगायतका अतिथिहरुले पुरस्कृत गर्नुभएको थियो । जुनियर कोड फिस्टमा विराटनगरका हेरिटेज इन्टरनेशनलसहित पोखरिया स्कुल, डीएभी स्कुल, ग्रिन पिस एकेडेमी, अरनिको आवसिय स्कुल, मदर टेरेसा र ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी ७ विद्यालयका १६ समूहमा रहेका विद्यार्थीहरुले तयार पारेको सामग्रीको अवलोकन र प्रस्तुतीपछि निर्णायक मण्डलीहरुको मतबाट विजेताहरु घोषणा गरिएको कर्णले जानकारी दिनुभयो । स्नातक तहमा गएर अध्ययन गर्नुपर्ने आईटीका प्रयोगात्मक अभ्यासलाई ग्रास रुटबाटै अघि बढाउन यो प्रतियोगिता आयोजना गरिएको कर्णले बताउनु भयो । मेरो कोडिङ क्लास र क्लोभ आईटीले विराटनगरमा कोडिङ अध्ययन गरिरहेका विद्यालयहरुबीच यो प्रतिस्पर्धाको आयोजना गरेको हो ।