हाम्रो पेज
काठमाडौं १ माघ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ । बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको प्रवक्ता समेत रहनु भएका नेता देवराज चालिसेले जानकारी दिनुभयो । बैठकले पार्टी सभापति गगन कुमार थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ। चालिसेले भने, यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ। कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्यपद्धति यसमा समेटिनेछ। यसैगरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ुनिर्वाचन परिचालन समितिु गठन गरिएको छ। समितिले देशभर पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने उहाँको भनाइ छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना अभिलेखहरूलाई विस्थापन गरी नयाँ विवरण अध्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। नेता चालिसेले भन्नुभयो, उम्मेदवार मनोनयनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने लगायतका कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा पत्राचार र विवरण बुझाइनेछ। बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ। नेता चालिसेले भन्नुभयो, जनताका लागि राजनीति हो, केही व्यक्तिका लागि होइन भन्ने सन्देश हामी घोषणापत्र र व्यवहारबाटै दिन चाहन्छौं। नयाँ युग सापेक्ष र युवाहरूको आशा बमोजिमको कांग्रेस बनाउन हामी केन्द्रित छौं।यस्तै गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता चालिसेले बताउनुभयो ।

उहाँले आयोगले आधिकारिकता विवाद चाँडै टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँ भन्नुभयो, ‘विशेष महाधिवेशनपछिको निर्णय अध्यावधिक गराउनको लागि निर्वाचन आयोग जाने निर्णय भएको छ। उम्मेदवार प्रयोजनको लागि हस्ताक्षर परिवर्तन गर्न, समानुपातिक उम्मेदवारको लिस्ट संशोधन गर्नको लागि हामी आयोज जान लागेका हौं।’ बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने नेता चालिसेले जानकारी दिनुभयो । यो निर्णयसँगै सभापति गगन थापा सम्पूर्ण पदाधिकारीसहित निर्वाचन आयोग पुग्नु भएको छ । शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ। गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १३ पदाधिकारीसहित १२१ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति गठन गरेको छ ।