search logo
NOTIFICATIONS

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ः ‘शाम्बाला’ उत्कृष्ट फिल्म, विजय र उपासना बने उत्कृष्ट अभिनेतार अभिनेत्री

हाम्रो पेज

३० असार २०८२, सोमबार १७:२५

काठमाडौं ३० अषाढ । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ भव्यताका साथ सम्पन्न भएको छ, जहाँ अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित चलचित्र ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ। यस वर्ष प्रदर्शनमा आएका चलचित्रहरूमध्ये विभिन्न विधामा प्रदान गरिएको पुरस्कारमा ‘शाम्बाला’ले नै उत्कृष्ट निर्देशकको सम्मान पनि जित्न सफल भयो। निर्देशक मीनबहादुर भामको अनुपस्थितिमा उनका तर्फबाट फिल्मका कलाकार कर्मा र निर्देशककी छोरी अक्षता भामले पुरस्कार ग्रहण गर्नुभएको थियो।


मुख्य विधाका विजेताहरू
उत्कृष्ट चलचित्रः शाम्बाला
उत्कृष्ट निर्देशकः मीनबहादुर भाम शाम्बाला
उत्कृष्ट अभिनेताः विजय बराल पूर्णबहादुरको सारङ्गी
उत्कृष्ट अभिनेत्रीः उपासना सिंह ठकुरी खुस्मा
उत्कृष्ट लेखनरपटकथाः दीपकराज गिरी छक्का पञ्जा ५
उत्कृष्ट छायांकनः पुरुषोत्तम प्रधान पिताम्बर
उत्कृष्ट सम्पादनः भरत रेग्मी पुजार सार्की
उत्कृष्ट आदिवासी जनजाति फिल्मःगालय् वन नेवारी भाषा
निर्णायक समिति प्रोत्साहन पुरस्कारः प्रदीप खड्का पुजार सार्की
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्ने विजेताहरूले ट्रफीसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।यस्तै कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘दीर्घसाधना सम्मान लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ। ‘मनको बाँध’ बाट सहायक निर्देशकका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका शर्माले ‘भाइटीका’, ‘बरपिपल’, ‘साथी’ लगायत दर्जनौं सफल चलचित्र निर्देशन गर्नुभएको छ। उहाँलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याउने १० जना व्यक्तित्वलाई ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा कलाकार प्रेम सुब्बा, पार्श्व गायिका देविका बन्दना, छायाकार दीर्घ गुरुङ, निर्देशकरकलाकार अनुप बराल, प्राविधिक परशुराम चौधरी, कलाकार सुरक्षा पन्त, वितरक नकिम उद्दिन, कलाकार उत्तम केसी, कलाकार अञ्जु रञ्जितकार र कलाकार निखिल उप्रेती रहनुभएको छ।
यसैगरी, ‘विशेष चलचित्र पुरस्कार २०८१’ बाट लिम्बू भाषाको फिल्म ‘चिने’ का निर्माता सागर केरुङ र मगर भाषाको फिल्म ‘दिलसरा’ का निर्माता तारामाया थापालाई सम्मान गरियो। कार्यक्रममा फिल्म ‘चिनो’ को छायांकनका क्रममा ज्यान गुमाएका प्राविधिक श्रवण मास्केलाई ‘मरणोपरान्त विशेष योगदान सम्मान’ प्रदान गरिएको थियो। उहाँको सम्मानसहितको नगद ५० हजार रुपैयाँ उहाँका भाइ सञ्जीव मास्केले ग्रहण गर्नुभयो। यस वर्षको पुरस्कारका लागि निर्णायक समितिमा कलाकार रमेश बुढाथोकी, एनबी महर्जन, करण थापा, सुचित्रा श्रेष्ठ र दीपेन्द्र के खनाल रहनुभएको थियो।