सुनसरीमा भिनाजुद्वारा सालीको गोली हानी हत्या, फरार अभियुक्त भारतीय

हाम्रो पेज

३० असार २०८२, सोमबार ११:००

सुनसरी, ३० अषाढ । सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ महरम चोकमा सोमबार बिहानै एक किशोरीको गोली हानी विभत्स हत्या भएको छ । आफ्नै भिनाजु नाता पर्ने भारतीय नागरिकले १८ वर्षीया अरसी खातुनको टाउकोमा गोली प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, सोमबार बिहान करिब २ः३० बजेतिर अरसीलाई उनका भिनाजु, भारत बिहारको पत्राहा पञ्चायत १६ घुर्ना निवासी २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका थिए । टाउकोमा गोली लागेका कारण अरसीको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै अभियुक्त जट फरार भएका छन् ।प्रहरीले घटनास्थलबाट सानो पेस्तोलमा प्रयोग हुने नपड्किएको एक राउन्ड गोली बरामद गरेको छ । डीएसपी योगराज खतिवडाले प्रारम्भिक अनुसन्धानबाट भिनाजुले नै हत्या गरेको खुलेको र उनको व्यापक खोजी भइरहेको जानकारी दिनुभयो । हत्याको कारण अझै स्पष्ट भइसकेको छैन, तर प्रहरीले प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद हुन सक्ने आशंका गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भन्नुभयो, हत्याको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएका छौं । अभियुक्त भारतीय नागरिक भएकाले उनको खोजीका लागि भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरिरहेका छौं। प्रहरी अनुसन्धानबाट अभियुक्त जट नेपाल भारत दुवैतर्फ आपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको खुलेको छ । उनको भारतमा हत्या, अपहरण, चोरी र डकैतीजस्ता दर्जनौं मुद्दा रहेको प्रहरीले जनाएको छ । उनी भारतमा अपराध गरेर नेपाल र नेपालमा अपराध गरेर भारत भाग्ने गरेको पाइएको छ ।हत्यापछि फरार रहेका अभियुक्त जटको नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको समन्वयमा व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।