बाराको सिमरामा फेरि लगाइयो कर्फ्यू ,जेनजीमाथि आक्रमण गर्ने दुई वडाअध्यक्ष पक्राउ

हाम्रो पेज

४ मंसिर २०८२, बिहीबार १४:५६

बारा ४ मंसिर । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास बिहीबार पनि कफ्र्यु आदेश जारी गरेको छ । बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आज पनि जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् । ‍विरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५ सय मिटर वरपर कफ्र्यु आदेश लागू हुनेछ । बिहीबार नै प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । बुधबार एमालेको कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि उनीहरूको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए । उनीहरूको विरोध प्रदर्शनपछि दुवै नेताहरू काठमाडौँबाट सिमरा जान सकेनन् । त्यसै क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। यसै घटनामा संलग्न भएको आरोपमा एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन् । उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए । शान्तिपूर्ण प्रर्दशनमा उत्रिएपनि आफूहरुमाथि आक्रमण भएको र प्रहरी समेत मुकदर्शक बनेको भन्दै जेनजीहरुले गृहमन्त्री ओमप्रकाश अर्यालको समेत आलोचना गरिरहेका छन् । यता राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । बारामा बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पु¥याउन समेत सम्बन्धित निकायलाई आयोगले आग्रह गरेको छ । ‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ अयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।’ मानव अधिकार आयोगले उक्त घटनाको अनुगमन गरिरहेको पनि प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार बुधबार उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको पाइएको छ । पाँच जना घाइते भएको विवरण आयोगले पाएको विज्ञप्तिमा उल्लेख छ । ‘घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ,’ आयोगले भनेको छ ।