
काठमाडौं, २३ कार्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन शाहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गर्दै सुकुमबासी बस्ती भत्काउने प्रयास सफल हुन नदिने बताउनु भएकोछ । आइतबार बिहान मनोहराको सुकुमबासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुमबासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साउनुभयो । प्रसाईले भन्नुभयो, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘ ‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उहाँले भन्नुभयो । प्रसाईंले बालेनलाई भन्नुभयो , ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’ प्रसाईंंले थप भन्नुभयो, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो । यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो । शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ ।’बरु बालेनको कारणले काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले बताउनुभयो । प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाउनुभयो । दलहरुले सुकुमबासीहरुलाई भोट बैंक मात्र बनाएको बताउँदै उहाँले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिनुभयो । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उहाँले दिनुभयो । सुकुमबासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।