search logo
NOTIFICATIONS

कोशीका मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि कर्मचारी संगठनले भन्यो माफी माग्नुपर्छ

हाम्रो पेज

१६ भाद्र २०८२, सोमबार १९:४८

विराटनगर १६ भाद्र । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री खगेनसिंह हाङ्गाम र प्रदेश सचिव शरणकुमार पाण्डेबीचको असमझदारीले अहिले व्यापक चर्चा पाएको छ। मन्त्री हाङ्गामले सचिव पाण्डेले चढ्ने गाडीको चाबी खोसेको खबर सार्वजनिक भएसँगै यस घटनाले प्रदेश प्रशासनमा नयाँ तरंग ल्याएको छ। यस विषयमा नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेश कार्य समिति, कोशी प्रदेशले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार, सचिव पाण्डेको दुई साताअघि सरुवा भए पनि रमाना लिनुभएको थिएन । भदौ १३ गतेको क्याबिनेटले उहाँलाई पुनः यही मन्त्रालयमा थमौती गरेको थियो। स्रोतका अनुसार, मन्त्री हाङ्गाम आफू अनुकूलको सचिव ल्याउन चाहिरहनु भएको थियो । तर सचिव पाण्डेको थमौती भएपछि गाडीको चाबी खोसेको बताइएको छ।

साथै, उहाँले चालकहरूलाई भेला पारी कसैले सचिवलाई बोके कारबाही हुने धम्की दिएको खबरले थप तनाव उत्पन्न गरेको छ। सचिव पाण्डेले भने आफूसँग मन्त्रीको कुनै विवाद नभएको तर चालकबाट चाबी खोसिएको जानकारी दिनुभएको छ । यो घटनाको नेपाल निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, राष्ट्रसेवाका क्रममा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका मन्त्रालयको प्रमुख प्रशासकीय जिम्मेवारी बोकेको राष्ट्रसेवक कर्मचारीमाथि प्रदेश सरकारका बहालवाला मन्त्रीबाट गरिएको अमर्यादित, अपमानित तथा अत्यन्त घृणित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित कार्य वातावरणको समेत प्रत्याभूत हुन नसकेको यस किसिमका निन्दनीय र भर्त्सना योग्य भएको हाम्रो ठहर रहेको छ। संगठनले यस प्रकारको कार्यमा संलग्न मन्त्रीलाई सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने र दोहोर्याएमा थप आन्दोलनात्मक गतिविधि गर्ने चेतावनी दिएको छ। मन्त्री हाङ्गामको यस्तो व्यवहार यसअघि पनि चर्चामा आएको थियो। गत जेठमा बजेट निर्माणको विषयमा प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै उहाँले सचिवसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाहीको धम्की दिनु भएको थियो । केही दिनअघि करारका चालक हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने उहाँको प्रयास सचिव पाण्डेले अस्वीकार गरेपछि विवाद बढेको मन्त्रालय स्रोतले बताउँछ।