search logo
NOTIFICATIONS

३ दिन काठमाडौं भित्रिने र बाहिरिने सवारी बन्द ,देशभर अविरल वर्षा,बाढी, पहिरो र डुबानको उच्च जोखिम

हाम्रो पेज

१८ आश्विन २०८२, शनिबार १२:१५

काठमाडौं, १८ आश्विन । असोज देशभर सक्रिय मनसुनका कारण अविरल वर्षाले जनजीवनमा व्यापक प्रभाव पारेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवागमनमा असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा रोक लगाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने सवारी साधनका लागि यो नियम लागू हुनेछ। अत्यावश्यक सेवाबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले आग्रह गरेको छ। वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको जबाङ खोलामा पहिरो खसेर काठमाडौँतर्फको आवागमन अवरुद्ध भएको छ। मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।पहिरो पन्छाउने कार्य जारी रहे पनि मौसम सुधार नभएसम्म सडक खुल्ने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू खराब मौसमका कारण स्थगन गरिएका छन्।

काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएका छन्। अन्तरराष्ट्रिय उडानहरू भने सञ्चालनमा रहेका छन्। जल तथा मौसम विज्ञान विभागले आज शनिबा। र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेकोले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। निरन्तर वर्षापछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ। वडा नं १४ कोहिनुर हाउजिङ नजिकै हनुमन्ते खोलाले सडक कटान गरी केही घरहरू जोखिममा पारेको छ। महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्ने प्रयास भइरहेको छ। कुनै बस्तीमा डुबानको समस्या आएमा सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको र कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न महानगरले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले सुदूरपश्चिम र कर्णालीबाहेक बाँकी सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यात्रुहरूलाई अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न प्राधिकरणले आग्रह गरेको छ।

नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था निम्न रहेको छ ।

-काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाण्डौबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड गरिएको ।

-धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध

-काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल बर्षातको कारणले धुलिखेल देखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड

-रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । रसुवा गोसाइकुण्ड गापा वडा नं२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द ।

-रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरोका कारण बाटो अबरुद्ध

-संखुवासभा भोटखोला गापा४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको । बर्षातको अवधिभर सुचारु हुन नसक्ने ।

– संखुवासभा मकालु गापा३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरुद्ध

संखुवासभा मकालु गापा ३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध ।

– मिति २०८२/०६/१६ गते बिहिबार देखि २१ गते मंगलबारसम्म साँझ १७:०० बजेदेखि बिहान ०५ः०० बजेसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने ।

-भोटकोशी गापावडा नं४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध