search logo
NOTIFICATIONS

विपद न्यूनीकरणमा कोशी प्रदेशको महत्त्वपूर्ण कदमः जोखिमयुक्त बस्ती सारिने, विपद् बीमा लागू गरिने

हाम्रो पेज

२६ जेष्ठ २०८२, सोमबार १७:१९
विराटनगर, २६ जेठ I कोशी प्रदेश सरकारले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दुईवटा महत्त्वपूर्ण र दीर्घकालीन रणनीति अघि सारेको छ। प्रदेशले जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र नागरिकको सम्पत्तिको सुरक्षाका लागि ‘विपद् बीमा’ कार्यक्रम लागू गर्ने तयारी थालेको हो।

आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यी महत्त्वपूर्ण निर्णयहरू गरेको हो। यसवर्ष मनसुन छिट्टै सुरु भएको र लामो समयसम्म सक्रिय रहने पूर्वानुमानका बीच प्रदेश सरकारले पूर्वतयारी तथा प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउन यो कदम चालेको हो। बैठकले प्रदेशभित्र तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका ४ हजार एकसय ५१ परिवारको पहिचान गरेको छ। मुख्यमन्त्री कार्कीले यी परिवारको स्थानान्तरण र विपद् बीमाको विषयलाई उच्च प्राथमिकतामा राखेर तत्काल काम अघि बढाउन निर्देशन दिनुभयो। उहाँले विभिन्न संघसंस्थासँगको सहकार्यमा जोखिममा परेका घरहरूको पुनर्निर्माणको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिनुभएको छ। बजेट र कार्यक्षमताको पूर्ण उपयोग गर्दै विपद् प्रतिकार्यमा तत्काल जुट्नुहोस्, मुख्यमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो।

यस्तै बैठकले ‘प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना, २०८२ र ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८२’ लाई पारित गरेको छ, जसले आगामी दिनमा विपद् व्यवस्थापनलाई थप योजनाबद्ध र प्रभावकारी बनाउनेछ । यस्तै चालु आर्थिक वर्षमा राहत सामग्री खरिद तथा वितरणमा भएको ७५ लाख ८० हजार रुपैयाँ बराबरको खर्चलाई परिषद्ले अनुमोदन गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, गत वर्ष आगलागी, बाढीपहिरो, चट्याङ र विस्फोट जस्ता विपद्मा परी ज्यान गुमाएका ३४ जनाका परिवारलाई राहत रकम वितरण गरिएको छ। साथै, निजी आवास पुनर्निर्माणका लागि ८६ लाख ४० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। यी निर्णयहरूले कोशी प्रदेशमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ। बस्ती स्थानान्तरण र विपद् बीमा जस्ता कार्यक्रमले नागरिकको जीवन र सम्पत्तिको सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।