search logo
NOTIFICATIONS

मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक, दर्ता नगरे ७ दिनपछि फेसबुक बन्द गर्ने

हाम्रो पेज

११ भाद्र २०८२, बुधबार १७:४६

काठमाडौं, ११ भाद्र । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताउनुभयो । यस्तै नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा गर्ने, एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ  । यस्तै सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनका लागि सामाजिक सञ्जालहरुलाई सात दिनको समय दिएर सार्वजनिक सूचना निकाल्ने भएको छ। यसअनुसार सूचीकरण नभए नेपालभित्र त्यस्ता सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय समेत भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । पछि सूचीकरण भएमा तत्काल पुनः सक्रिय गराउन मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थि गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो कदम चालिएको सरकारले जनाएको छ।