
काठमाडौँ २१, श्रावण । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि ‘नेपवेस्ट प्रालि’सँग भएको सम्झौता एकतर्फी रूपमा अन्त्य गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयलाई उच्च अदालत पाटनले बदर गरिदिएको छ। अदालतले रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेशसमेत जारी गरेको छ। न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले गरेको यो ऐतिहासिक फैसलाले महानगरपालिकाको एकलौटी निर्णय प्रक्रियामाथि गम्भीर कानुनी प्रश्न उठाएको छ। लगानी बोर्ड र नेपवेस्ट प्रालिबिच २०७५ जेठ ९ गते उपत्यकाको फोहोर व्यवस्थापनका लागि ‘परियोजना विकास सम्झौता भएको थियो। तर, २०७८ चैतमा काठमाडौँ महानगरपालिकाले आफैँ सञ्चालन गर्ने भन्दै परियोजना आफ्नो स्वामित्वमा ल्यायो। त्यसको करिब एक वर्षपछि, २०८० वैशाख २३ गते, महानगरले परियोजना कार्यान्वयनमा कठिनाइ भएको भन्दै सम्पूर्ण कागजात लगानी बोर्डलाई फिर्ता पठाउने निर्णय गर्यो। महानगरको यही कदमलाई चुनौती दिँदै नेपवेस्ट प्रालि अदालत पुगेको थियो।

अदालतले आफ्नो फैसलामा महानगरको निर्णय प्रक्रिया अपारदर्शी रहेको औँल्याएको छ। आदेशमा भनिएको छ, “परियोजना फिर्ता पठाउने निर्णय महानगर कार्यसमितिको हो वा नगरप्रमुखको होरु कुन तहको निर्णय हो भन्ने व्यहोरा उक्त पत्रमा खुलेको अवस्था देखिएन।”अदालतले अगाडि भनेको छ, यो बीस वर्षे, बहुपक्षीय र अर्बौँको वैदेशिक लगानी सुनिश्चित भएको राष्ट्रिय महत्वको परियोजना हो। यस्तो परियोजनालाई एउटा स्थानीय तहले मात्रै स्वेच्छाचारी ढङ्गले रोक्न सक्दैन। नेपालको संविधानको धारा २३२ ले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई सबै पक्षले आत्मसात् गर्नुपर्छ। यो फैसलासँगै फोहोरमैला व्यवस्थापनको राष्ट्रिय महत्वको परियोजना पुनः सञ्चालनको बाटो खुलेको छ। साथै, यसले बहुपक्षीय सम्झौतामा कुनै एक पक्षको एकलौटी निर्णय मान्य नहुने र सहकार्यको सिद्धान्त अनिवार्य हुने महत्वपूर्ण नजिर स्थापित गरेको छ।