
सुनसरी, ५ श्रावण । सुनसरीको सप्तकोशी नदीमा नुहाउने क्रममा एक ११ वर्षीय बालक बेपत्ता भएका छन्। बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित नदीमा उनी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार बेपत्ता हुने बालक भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका छोरा ११ वर्षीय दीपेश मेहता हुन्। प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाका अनुसार, दीपेश आफ्ना दुई साथीसँगै नदीमा नुहाउन गएका थिए। उनका साथीहरू सकुशल बाहिर निस्कन सफल भए पनि दीपेश नदीको बहावमा हराएका थिए। घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ। बेपत्ता बालकको नदी र आसपासका क्षेत्रमा तीव्र रूपमा खोजी भइरहेको डीएसपी खतिवडाले जानकारी दिनुभयो ।