search logo
NOTIFICATIONS

रवि लामिछानेविरुद्ध अर्को मुद्दाः पर्साको सहकारी ठगीमा ५ करोड ७४ लाख बिगो माग

हाम्रो पेज

१ असार २०८२, आईतवार १९:४७
काठमाडौं, १ अषाढ I बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अर्को जिल्लामा पनि मुद्दा दायर भएको छ। पर्सास्थित सानो पाइला सहकारीको १ अर्ब ३२ करोड रुपैयाँ अपचलन प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। दुईसय ६ जना पीडितको जाहेरीका आधारमा अघि बढेको यो मुद्दामा लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। जोशी पनि हाल सुप्रिम सहकारी प्रकरणमै रुपन्देही कारागारमा छन्। बाँकी २७ जना प्रतिवादी भने फरार रहेको अभियोग पत्रमा उल्लेख छ। वीरगन्जस्थित सानो पाइला सहकारीले करिब आठसय बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ बचत संकलन गरेको थियो। तर, सहकारीले ऐनविपरीत कार्यक्षेत्र बाहिरका र सदस्यसमेत नरहेका व्यक्ति तथा संस्थालाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ। करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरेर अपचलन गरिएको छ।

यो सहकारीबाट पनि सुप्रिमका मुख्य आरोपी जीबी राई सञ्चालक रहेका संस्थाहरूमा करोडौं ऋण प्रवाह भएको छ, जसमा नेचर हब इन्टरनेसनल एक करोड ३७ लाख, नेचर नेस्ट प्रा.लि. एक करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेट एक करोड एक लाख रहेका छन्।

यसअघि नै रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ। अब पर्सामा दायर भएको यो नयाँ मुद्दाले उहाँको कानुनी झमेलालाई थप जटिल बनाएको छ।