हाम्रो पेज
काठमाडौं, १९ अषाढ । कठिन परिस्थितिलाई चिर्दै जब कोही असाधारण प्रतिभा चम्किन्छ, त्यसको प्रकाशले समाजलाई नै उज्यालो बनाउँछ। भक्तपुरको इँटाभट्टाको खलामा काम गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएर सबैलाई चकित पारेकी गोमा श्रेष्ठको डाक्टर बन्ने सपना अब सपना मात्र रहने छैन्। उहाँको प्रतिभा र सङ्घर्षको सम्मान गर्दै भाटभटेनी समूहका अध्यक्ष तथा चर्चित समाजसेवी मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङले उहाँको एमबीबीएससम्मको सम्पूर्ण शैक्षिक यात्राको जिम्मेवारी लिने घोषणा गर्नुभएको छ ।
बिहीबार, गुरुङ दम्पतीले गोमालाई आफ्नो भाटभटेनीस्थित कार्यालयमा बोलाएर हार्दिकतापूर्वक सम्मान गर्नुभयो। त्यो क्षण गोमाका लागि मात्र होइन, कडा परिश्रम र इमानदारीमा विश्वास गर्ने हरेक व्यक्तिका लागि प्रेरणादायी थियो। गुरुङ दम्पतीले गोमालाई एमबीबीएससम्म पढाउने वाचासहित प्रोत्साहन स्वरूप एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र प्रदान गर्नुभएको छ । समाजसेवी गुरुङले गोमाको उच्च शिक्षाको पहिलो खुड्किलोको रूपमा प्रतिष्ठित सेन्ट जेभियर्स कलेज, माइतीघरमा कक्षा ११ र १२ को अध्ययनको सम्पूर्ण खर्चसमेत व्यहोर्ने प्रतिबद्धता जनाउनु भएको छ । यसपछि एमबीबीएस अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको जिम्मा लिएर उहाँले एक उदाहरणीय परोपकारी कार्य गर्नुभएको छ । यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका दर्जनौं जेहेन्दार विद्यार्थीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहनु भएको छ। अब त्यही प्रेरणादायी सूचीमा गोमाको नाम पनि थपिएको छ।

गोमाको सङ्घर्ष र सफलताको अनुपम कथा

गोमाको सफलताको कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन। रामेछापको खनियाँपानीबाट चार वर्षको उमेरमा परिवारसँगै भक्तपुर झरेकी गोमाको जीवन सङ्घर्षले भरिएको थियो। छोरीको पढाइप्रतिको लगाव देखेर उनका बुबा मीनबहादुर श्रेष्ठले आफ्नो थातथलो छाडेर भक्तपुरको इँटाभट्टामा मजदुरी गर्न सुरु गर्नुभएको थियो । इँटाभट्टाकै जस्ताको टहरामा हुर्किएक गोमा दिउँसो विद्यालय जान्थिन् भने बिहान बेलुका आमाबुबालाई सघाउन इँटा सुकाउने काम गर्थिन्। यही कठोर दैनिकीका बीच उनले आफ्नो पढाइलाई कहिल्यै कमजोर हुन दिइनन्। महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले धान रोपाइँको मेलाबाट फर्केर आफ्नो नतिजा हेर्दा खुसीको सीमा रहेन। उनले सामुदायिक विद्यालयमा पढेर पनि ४ जीपीए ल्याएर असम्भवलाई सम्भव बनाएकी थिइन्। आफ्नो डाक्टर बन्ने सपना र परिवारको कमजोर आर्थिक अवस्थाबारे समाचार बाहिरिएपछि गुरुङ दम्पतीको ध्यान खिचिएको थियो। विज्ञान सङ्कायमा प्लस टु गरी एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो, गोमाले आत्मविश्वासका साथ भनेकी छन्। उनको यो सपनामा अब मीनबहादुर गुरुङजस्ता समाजसेवीको साथ जोडिएको छ, जसले यो सुनिश्चित गर्छ कि आर्थिक अभावले कुनै पनि प्रतिभाको बाटो छेक्न सक्दैन।
