search logo
NOTIFICATIONS

‘मरेर गए नि नतोडिने बन्धन’, टिकटकमा अन्तिम भिडियो, पासोमा सँगै झुन्डिए दिदीबहिनी

हाम्रो पेज

८ श्रावण २०८२, बिहीबार १२:३०
भारतबाट भागेर भक्तपुरमा डेरा लिएका दिदीबहिनीको आत्महत्या रहस्यमय, प्रहरी अनुसन्धानमा


भक्तपुर ८ श्रावण । मरेर गए नि नतोडिने बन्धन माया हो, यो गीतको पृष्ठभूमिमा एउटै डोरीको पासो घाँटीमा लगाएर दुई दिदीबहिनी सेल्फी खिच्छन्, टिकटक बनाउँछन् र सदाका लागि अफलाइन हुन्छन्। यो कुनै फिल्मको दृश्य होइन, भक्तपुरको मध्यपुर ठिमि, बोडेमा बिहीबार बिहान भएको एक हृदयविदारक घटनाको अन्तिम डिजिटल पदचिह्न हो। बिहीबार बिहान करिब ६ः४५ बजे, सुर्खेतको पञ्चपुरी नगरपालिका८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल चक्रधर प्रजापतिको घरको भुइँ तलामा मृत अवस्थामा फेला परे। एउटै डोरीको पासोमा सँगै झुन्डिएका उनीहरूको आत्महत्या सामान्य थिएन। प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उनीहरूले मृत्युभन्दा केही घण्टाअघि, राति करिब २ बजे बनाएको टिकटक भिडियो भेटिएको छ, जसमा उनीहरू शान्त देखिन्छन्, अनुहारमा कुनै पीडाको भाव छैन। यो घटनाको पछाडि तीन हप्ता लामो रहस्य लुकेको छ। रोजगारीका लागि भारतको मुम्बईमा बस्दै आएका बाबुआमासँगै रहेका यी दिदीबहिनी तीन हप्ताअघि अचानक हराएका थिए। आमा उमा कँडेलले भारतको एक स्थानीय टेलिभिजनमा दिएको अन्तर्वार्ताअनुसार, छोरीहरू कम्प्युटर क्लास जान्छौँ भनेर घरबाट निस्किएका थिए। घर नफर्किएपछि आमाले पठाएको भ्वाइस म्यासेजको जवाफमा कान्छी छोरी सृजनाले भनेकी थिइन्, हामी यहाँ छैनौँ, बैंगलोर गयौँ। पैसा कमाएर तपाईंलाई भेट्छौँ, त्योभन्दा अगाडि सक्दैनौँ। त्यसपछि परिवारले उनीहरूको खोजी तीव्र पारेको थियो, तर उनीहरू कहाँ छन् भन्ने पत्तो लागेको थिएन। उनीहरूले भारत छाड्नुअघि फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेका थिए।


परिवारलाई थाहै नदिई नेपाल आएका उनीहरूले भक्तपुरको बोडेमा विद्यार्थी हौं र बुबा नेपालकै होटलमा काम गर्नुहुन्छ भनेर कोठा भाडामा लिएका थिए। उनीहरूको यो गुमनाम बसाइ र रहस्यमय यात्राको अन्त्य बिहीबार बिहानको दुःखद घटनासँगै भएको छ । प्रहरीका अनुसार, आत्महत्या गर्नुअघि उनीहरूले आफ्नो फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर पोस्ट गरेका थिए। त्यही नम्बरको आधारमा प्रहरीले भारतमा रहेका बुबा बालाराम बासुदेव कँडेललाई सम्पर्क गर्‍यो। छोरीहरूको मृत्युको खबर पाएपछि स्तब्ध बनेका बुबाले काठमाडौँको कलंकीमा रहेकी बहिनीलाई सम्पर्क गर्न भने। प्रहरीले घटनास्थलबाट मोबाइल सिल गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन। भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनु भएको छ । उनीहरू किन परिवारबाट भागे ? भारतबाट नेपाल आएर किन गुमनाम जीवन बिताए ? र, अन्ततः किन यस्तो भयानक निर्णय लिए ? यी प्रश्नहरूको जवाफ खोज्न प्रहरी अनुसन्धानमा जुटेको छ भने भारतबाट छोरीहरूको शव बुझ्न आउँदै गरेका बाबुआमासँगको कुराकानीपछि थप केही खुल्ने प्रहरीले अपेक्षा गरेको छ ।