हाम्रो पेज
विराटनगर १० अषाढ I लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा जनजीवन प्रभावित बनेको छ।
नेपाल प्रहरीका अनुसार तीनवटा राष्ट्रिय करिडोरसहित ११ वटा सडक खण्ड अवरुद्ध भएका छन् भने जल तथा मौसम विज्ञान विभागले ५५ जिल्लामा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार देशभरका मुख्य सडकहरूको अवस्था निम्नानुसार छः
पूर्ण रूपमा अवरुद्ध ३ सडक
कालीगण्डकी करिडोर गुल्मी खण्ड
जाजरकोट डोल्पा भेरी करिडोर रुकुमपश्चिम खण्ड
भेरी करिडोर डोल्पा खण्ड
एकतर्फी सञ्चालन ८ सडक
रविराँके भेडेटार सडक धनकुटा
कोसी राजमार्ग संखुवासभा
पूर्व पश्चिम राजमार्ग नवलपरासी पूर्व
कालीगण्डकी करिडोर नवलपरासी
बेनी जोमसोम सडक म्याग्दी
पोखराबागलुङ सडक कास्की
कालीगण्डकी करिडोर गुल्मी
जुम्ला मुगु सडक
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन बिहीबारसम्म को पूर्वानुमान सार्वजनिक गर्दै सतर्क रहन आग्रह गरेको छ। कोसी, नारायणी, कन्काई र यिनका सहायक नदीहरूको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाइएको छ।
यस्तै कर्णाली, महाकाली, राप्ती, बागमती, कमला र बबई नदीको जलसतह बढ्दो रहे पनि हाललाई सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ। महाशाखाले आज देशका ५५ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ, जसलाई दुई तहमा वर्गीकरण गरिएको छ। काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित झापा, इलाम, सिन्धुपाल्चोक, चितवन, कास्की, गुल्मी, पाल्पा, कैलाली र कञ्चनपुर लगायत ३५ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। यी क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ। मोरङ, सुनसरी, ताप्लेजुङ, दाङ, रुकुम, जाजरकोट र दार्चुला लगायत २० जिल्लाका साना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।