रवि लामिछानेलाई बयान लिन सिंहदरबार लगियो

हाम्रो पेज

१९ कार्तिक २०८२, बुधबार १४:२४

काठमाडौं, १९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बुधबार प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालय लगेको हो । जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि यो घटना थप विवादमा तानिएको थियो । लामिछाने भने पछि आफैँ कारागार फर्किएका थिए । जेनजी आन्दोलन र सो क्रममा भएका हिंसात्मक घटना, दमन र कारागारबाट कैदीबन्दी भागेको समग्र घटनाक्रमको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले रविलाई कार्यालयमा बोलाएर बयान लिएपनि भदौ २३ गते दमन गरेको मुख्य आरोप खेपिरहेका एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतसँग भने भयान लिएको छैन् । उनीहरु स्थान बन्दमा रहेका छन् । यस्तै सो दिन सुरक्षामा खटिएका प्रहरीहरु समेत आयोगको स्थान बन्दमा परेका छन् ।